सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    गाजरको हलुवा बनाउने तरिका र यसका फाइदा

    बुधबार, ६ मंसिर २०७४, आहाखबर
    काठमाडौं ।  
    गाजरको हलुवालाई स्वादिष्ट परिकारको रुपमा लिने गरिन्छ । गाजरको हलुवा स्वादिलो हुनुका साथै पोषिलो पनि हुन्छ । गाजर सलादको रुपमा पनि प्रयोग गरिन्छ । शेष गरेर तपाईले गाजरको हलुवा जाडो याममा बनाएर खान सक्नु हुन्छ । यो परिकार बनाउने विधि यस प्रकार छ । 
    आवश्यक सामाग्री –
    गाँजर १ किलो, दुध ३ पाउन, चिनी आधा किलो, बदाम आधा कप(टुक्रा गरेर काटेको), अलाईची १ चम्चा (धुलो), सुकमेल १ चम्चा (धुलो), घिउ १ चम्चा
     
    पकाउने बिधि –
    – गाजरलाई मसिनो पारेर कोरेसोमा कोरने र कोरिसकेपछि पानीमा राखेर उमाल्ने ।
    – गाजर राम्ररी पाकेपछि एउटा कपडामा राखेर पानी छान्ने ।
    – दुधलाई बाक्लो हुने गरि उमाल्ने अनि चिनी राखेर दुधलाई बाक्लो बनाउँने ।
    – आवश्यक मसला र गाजर सबैलाई भुटेर दुधमा हाल्ने अनि राम्रोसँग चलाउने ।
    – लेदो बनेर जमेपछि आँचबाट उतार्ने । गाँजरको हलुवा तयार भयो ।
    – गाजरको हलुवा माथि नरिवलको धुलो, सुकमेलको धुलो, बदामको धुलो अलिअलि छर्कने जसले गर्दा राम्रो दखिन्छ ।
     
    गाजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।
     
    गाजरका फाइदा –
    रतन्धो हुनबाट बचाउछ –
    गाजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउँछ ।
    मुटुको रक्षा गर्छ –
    गाजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छ । जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउँछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।
    क्यान्सर लाग्नबाट बचाउँछ–
    गाजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउँछ । गाजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।
    रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ –
    गाजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।
    दाँतका लागि लाभदायी –
    यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।
    बुढोपन रोक्छ –
    यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउँछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।
    महिलाको महिनावारीमा लाभदायी हुन्छ –
    गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउँछ र बढी रक्तस्राव हुनबाट जोगाउँछ । यसले महिनावारी सम्बन्धी अन्य समस्या पनि हटाउँछ ।
    हड्डी मजबूत पार्छ –
    गाजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
    पाचन प्रणालीमा सुधार ल्याउछ –
    गाजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ ।कब्जियत हटाउछ ।
    ब्लड सुगर नियमित गर्छ – 
    गाजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ ।
    छाला चम्किलो पार्छ –
    भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast