सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    कमालको कफी

    अब ‘कफी क्रान्ति’ को पर्खाइमा नेपाली युवा उद्यमीहरु !

    कफी व्यवसायमा नयाँ पुस्ताको संलग्नता बढ्दो, काम गर्नेहरुको लहर, सञ्चारकर्मीदेखि कलाकारसम्म

    शुक्रबार, २४ कार्तिक २०७४, - सागर चन्द.

     कार्तिक २४, काठमाडौं । 

    युरोपमा कफी घरको बारेमा एउटा प्रचलित उखान छ – ‘हरेक क्रान्तिको जन्म कफी घरमा हुन्छ ।’ युरोपियन वा पश्चिमा देशमा कफीलाई पेय पदार्थ मात्रै नभई विचारसँग समेत जोडेर हेर्ने गरिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा कफी घरबाट क्रान्तिको जन्म होला—नहोला त्यो आफ्नो ठाउँमा छ । तर, फस्टाउँदै गरेको कफी व्यवसायले नेपालमा पनि युवा पुस्ताका लागि व्यवसाय र रोजगारीका नयाँ अवसर भने सिर्जना गर्न थालिसकेको छ ।  

    बर्षेनी लाखौँको सँख्यामा युवाहरु अवसरको खोजी गर्दै विदेश पलायन भईरहँदा स्वदेशमै मौलाएको कफी व्यवसायले युवा पुस्तामाँझ भने साँच्चै नै क्रान्ति ल्याइसकेको छ । नयाँ पुस्ता कफी पिउन मात्रै होइन कफी व्यवसायमा पनि उत्तिकै तदारुकताका साथ लागेका छन् ।   

    बानेश्वर थापागाउँमा हिमालयन ‘ग्राईन्ड कफी’ नामक एक पसल चलाउँदै आएका विकास भण्डारी भर्खरै २७ बर्ष पुगे । करिब ८ बर्षदेखि हिमालयन जाभामा बारिस्ता (कफी बनाउने सीप)  को काम गरिरहेका भण्डारी कफी मेसिन प्राविधिक समेत हुन् । २ बर्षदेखि उनी र उनको समूहले ४५ लाख रुपैयाँको लगानीमा कफी रोष्टिङ प्लान्ट (कफी भुट्ने) सहितको क्याफे सञ्चालन गरिरहेको छ । रहरै रहरमा हिमालयन जाभामा काम गर्न पुगेका उनी आजसम्म आइपुग्दा कफी व्यवसायी बनिसकेका छन् । 


    हाल उनी कफी रोष्टिङ गर्ने, वितरण गर्ने, र बारिस्ताको तालिम दिने गर्छन् । उनको अनुभवमा पछिल्लो समय युवा पुस्तामा कफी शपमा काम गर्ने लहर चलेको छ । कफी व्यवसायमै आफुलाई सर्मपित गर्ने लक्ष्यका साथ लागेका भण्डारीको समूहले महिनाको ४ सय देखि ५ सय किलो कफी राजधानीका विभिन्न क्याफेमा वितरण गर्छ । ग्रिन विन (कफीको हरियो दाना) प्रति किलो ८ सय ५० देखि ९ सय रुपैयाँसम्म पर्ने गर्छ ।

    त्यही विन रोष्ट गरेर बेच्दा प्रतिकिलो १३ सय रुपैयाँ देखि १५ सय रुपैयाँसम्म पर्ने गर्छ । कफी व्यवसायमा रोजगारका धेरै विकल्प रहेको भण्डारी बताउँछन् । ‘कफी खेती गर्ने किसान, कफी संकलक, कफी रोष्ट गर्ने कारखाना र कफी शपका अलावा कफी मेसिन प्राविधिक, कफी जेटिए, बारिस्ता शिक्षकको रुपमा यस क्षेत्रमा काम गर्न सकिन्छ ।’ हाल उनको क्याफेमा उनि सहित ५ जना काम गर्ने गर्छन् । 

    भण्डारीकै क्याफेमा ६ महिनादेखि बारिस्ताको काम गरिरहेका २१ बर्षिया अनिल शर्मा अन्य जागिर भन्दा क्याफेको जागिर धेरै राम्रो ठान्छन् । यसअघि पनि विभिन्न रेष्टुरेण्टमा काम गरिसकेका शर्मा विद्यार्थीका लागि क्याफेको जागिर उपयोगी र सजिलो हुने बताउँछन् । उनी आफै पनि बीबिएस तेस्रो बर्षमा अध्ययनरत् छन् ।

    ‘बिहान वा दिउँसो कलेज जाने अनि पार्ट–टाईम क्याफेमा काम गर्न सकिन्छ । पकेट मनी पनि हुने र सीप पनि सिकिने ।’ शर्मा थप्छन् ‘क्याफेको वातावरण पनि युवा फ्रेन्ड्ली हुन्छ् ।’ क्याफेमा कामको धेरै भार नहुने भएकाले पनि विद्यार्थीहरुका लागि यो धेरै सजिलो लाग्छ शर्मालाई ।


    बारिस्ता सिकेको व्यक्तिले नेपालमा मात्रै होइन् विदेशमा पनि सजिलै जागिर पाउने संभावना हुन्छ । यहि भएरै हुनुपर्छ पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरु पनि बारिस्ता सिकेरै जान थालेका छन् । बानेश्वरमै रहेको अर्गानिक एस्प्रेसो कफी बारले गएको २ बर्षमा करिब २ सय जनालाई बारिस्ता तालिम प्रदान गरिसकेको छ । बारमा ५ बर्षदेखि बारिस्ताको काम गरिरहेका २१ बर्षिया अनिल श्रेष्ठका अनुसार उनको क्याफेमा बारिस्ता तालिम लिएकाहरु विदेशमा मात्रै नभई नेपालकै विभिन्न क्याफेमा पनि काम गरिरहेका छन् । 

    एसएलसी सकेपछि बारिस्ता तालिम लिएका श्रेष्ठ बारिस्तालाई जागिर मात्रै भन्दा पनि सीपको रुपमा लिनुपर्नेमा जोड दिन्छन् । ‘बारिस्ता यस्तो सीप हो जुन विश्वको हरेक देशमा जाँदा रोजगारीका लागि काम लाग्छ । बारिस्ता तालिम लिएपछि कफी बनाउने मात्रै नभई कफीसँग जोडिएका अन्य काम पनि गर्न सकिन्छ ।’ श्रेष्ठ थप्छन् ‘अरु क्षेत्रमा काम गरिरहेकाहरु पनि पार्ट–टाईम जबको रुपमा कफी शपमा काम गर्न सक्छन् ।’ 


    कफी शपमा बिहान, दिउँसो र बेलुका गरि जम्मा तीन शिफ्टमा काम गर्न सकिन्छ । क्याफेमा तीनदेखि दुई सिफ्टमा काम हुने भएकाले पनि आफु अनुकुल समय मिलाएर काम गर्न सकिने रक्षा थापाको भनाई छ । थापा विगत ६ बर्षदेखि राजधानीका विभिन्न कफी शपमा बारिस्ताको रुपमा काम गर्दै आईरहेकी छिन् । क्याफेको जव महिलाको लागि केही सजिलो पनि हुने उनको अनुभव छ । 
    ‘यहाँ रात—बिरात बस्नु पर्दैन, क्याफेमा अल्कोहल नहुने भएकाले गलत मनोवृत्तिका ग्राहक पनि आउँदैनन् ।’ आफ्नो २० बर्षको कलिलै उमेरमा बारिस्ता तालिम लिएकी थापा बारिस्ताको तलबले पनि सामान्य जीवनयापन गर्न सकिने बताउँछिन् । 
    मल्टीस्किल जब अर्थात बहु–सीप मानिने कफी मेकिङलाई पूर्णकालीन पेशाको रुपमा पनि अपनाउन सकिन्छ ।

    विगत ४ बर्षदेखि पूर्णकालीन बारिस्ताको काम गरिरहेकी २५ बर्षिया कञ्चन श्रेष्ठ हाल गैह्रीधारामा अवस्थित ‘स्टेसन फाईभ’मा चिफ बारिस्ताको रुपमा काम गर्छिन् । उनै कञ्चनले बौद्धमा बारिस्ता तालिम समेत दिन्छिन् । उनको बुझाईमा अहिले राजाधानी लगायतका ठूला शहरहरुमा बारिस्ताको माग बढ्दो छ । ‘अहिले त कफी शपमा मात्रै होइन रेष्टुरेण्ट र होटलले पनि बारिस्ता माग गर्न थालेका छन् ।’  उनी भन्छिन् ‘कफी त अहिलेको जेनेरेशनको लागि ट्रेण्ड नै भईसक्यो । मानिसहरु कफी आर्टकै लागि भए पनि कफी पिउन आउँछन् ।’ 


    त्यसो त आजकल सिनेमा तथा सञ्चार क्षेत्रका मानिसहरु पनि कफी व्यवसायमा आउन थालेका छन् । अभिनेत्री तथा सञ्चारकर्मी कृति भट्टराई बानेश्वरमा ‘एस्प्रेसो अर्गानिक कफी बार’ सञ्चालन गर्दै आएकी छिन् । उता प्रख्यात कार्टूनिष्ट राजेश केसीले पनि ललितपुर पूल्चोकमा ‘फलानो कफी शप’ सञ्चालन गर्दै आएका छन् । अभिनेत्री श्वेता खड्का (श्रेष्ठ) ले पनि राजधानीकै राईजिङ मलमा कफी शप सञ्चालन गरेकी छिन् । ललितपुर भैसेपाटीमा अभिनेता शिव श्रेष्ठले ‘हेलो कफी’ सञ्चालन गरेका छन् ।  


    रविन्द्र सिंह बानियाको समुहले गैह्रीधारमा ‘स्टेशन फाईभ कफी शप’ सञ्चालन गरिरहेको छ । त्यसो त विदेशबाट अध्ययन गरेर फर्किएका धेरै युवाले पनि राजधानी र राजधानी बाहिर कफी शप सञ्चालन गरिरहेका छन् । सिनेमा तथा सञ्चार क्षेत्रका चिर परिचित अनुहार कफी व्यवसायमा आउँदा समग्र कफी व्यवसाय र सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् नेपाल कफी व्यवासयी महासंघका अध्यक्ष श्याम प्रसाद भण्डारी ।

    नेपालमा कफीको इतिहास खोज्दा वि.स १९९५ सम्म जान सकिन्छ । हिरा गिरी नाम गरेका भिक्षुले बर्माबाट पहिलोपटक नेपालमा कफी भित्र्याएको इतिहास रहेको महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारी बताउँछन् । विश्वव्यापीरुपमै कफीको माग बढिरहँदा नेपालमा पनि कफी व्यवसाय गर्नेहरुको संख्या बढ्दै गईरहेको छ । 


    गत आर्थिक बर्षमा नेपालमा ५ सय ५० टन कफी उत्पादन भएको थियो । उत्पादित कफीको ६० प्रतिशत आन्तरीक बजारमै खपत भएको महासंघको तथ्याङ्क छ । यसरी उत्पादन पनि बढ्नु र आन्तरिक बजारमा खपत पनि बढ्नुलाई सबैले सकारात्मक रुपमा हेनुपर्ने भण्डारी बताउँछन् । त्यसो त कफी व्यवसाय गरेरै नेपालमा आत्मनिर्भर बन्न सकिने भण्डारी बताउँछन् । 

    अब कफी शप मात्रै नभई कफी खेतिमा पनि युवा पुस्तालाई आर्कर्षित गर्न सके रोजागरीका लागि विदेशिने युवाको संख्या २५ प्रतिशत सम्म कम गर्न सकिने भण्डारीको विश्वास छ । कफी प्राविधिक र अन्र्तर्राष्ट्रिय स्तरका बारिस्ता नेपालमै उत्पादन गर्नमा पनि महासंघ लागेको उनले बताए । महासंघले बर्षेनी कफी जेटिए र बारिस्ता तालिम समेत प्रदान गर्दै आएको छ ।

    ‘अहिले राजधानीमा ६ सय भन्दा बढी नेपाली कफी बेच्ने क्याफे छन् । पोखरामा १ सय जति नेपाली कफी बेच्ने क्याफे छन् । यी क्याफेहरुमा कम्तिमा पनि ४ देखि ८ जनाले रोजगार पाईरहेका छन् । देशभरका विभिन्न जिल्लाका २३ हजार घर परिवार कफी खेतीमा संलग्न छन् ।’ भण्डारीले भने । 
    साथै, अब कफी शप मात्रै नभई कफी खेतिमा पनि युवा पुस्तालाई आर्कर्षित गर्न सके रोजागरीका लागि विदेशिने युवाको संख्या २५ प्रतिशत सम्म कम गर्न सकिने भण्डारीको विश्वास छ । कफी प्राविधिक र अन्र्तर्राष्ट्रिय स्तरका बारिस्ता नेपालमै उत्पादन गर्नमा पनि महासंघ लागेको उनले बताए । महासंघले बर्षेनी कफी जेटिए र बारिस्ता तालिम समेत प्रदान गर्दै आएको छ ।


    हाल देशभरमा करिब ५ सय कफी संकलन केन्द्र रहेका छन् । जहाँ कम्तीमा पनि २ देखि ४ जनाले रोजागर पाएका छन् । त्यस्तै, जम्मा ३० वटा कफी प्रशोधन कारखाना रहेका छन् । एक प्रशोधन कारखानामा ३ देखी ४ जनाले काम गर्ने गरेको अध्यक्ष भण्डारी बताउँछन् ।
    कफी व्यवसायले पर्यटन उद्योगमा पनि  योगदान पु¥याएको छ । धेरै कफी व्यवसायीले अर्गानिक कफीको सहयोगमा इको टुरिजममा पनि योगदान दिएको नेपाल टुरिष्ट गाईड एशोसिएशनका महासचिव मोहनविक्रम शाहीले बताए ।
    कृषि विकास मन्त्रालयको अध्ययन अनुसार नेपालमा ११ लाख हेक्टरमा कफी गर्न सकिने भएपनि हाल २६ हजार हेक्टरमा मात्रै व्यवसायीकरुपमा कफी खेती भईरहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast