सोमबार, असोज ६, २०७६
    स्वाद/परिकार

    स्वादिष्ट च्याउको फाइदै फाइदा,अनेकौ परिकार

    बुधबार, १५ कार्तिक २०७४, आहाखबर
    काठमाडौं कार्तिक ।
    च्याउ विभिन्न प्रकारका हुन्छन् । च्याउ मात्ने र नमात्ने हुन्छ । नमात्ने च्याउ चाहिँ तरकारीको रुपमा सेवन गर्न हुन्छ । अहिले च्याउको खेती नै गर्ने गरिन्छ । यसको माग पनि ज्यादा नै हुने गर्छ । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ ।  च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने चिकित्सकहरुको भनाई छ । 
     
    च्याउले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गो्थियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । यो एक प्रकारको एमिनो एसिड हो र यसमा हुने सल्फर सरीरका लागि हरेक किसिमले फाइदाजनक हुन्छ । 
     
    यसको सेवनले मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ ।
     
    च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् । च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ ।
     
    मधुमेह नियन्त्रणका लागि पनि च्याउ उपयोगि मानिन्छ ।  च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ । रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।
     
    यसको विभिन्न परिकार पनि बनाउन सकिन्छ । च्याउको परिकार स्वादिष्ट मात्र होईन पूर्णरुपले पोषणयुक्त पनि हुन्छ । तरकारी बाहेक च्याउको अन्य कुन कुन परिकार हुन्छ त.....
    च्याउको पकौडा :
    च्याउ  २५०ग्रा.
    बेंकिंक पाउडर १  चिया चम्चा
    ब्रेड क्रम आवश्यकता अनुसार
    अण्डा  १ पिस
    हर्दी पाउडर  १ चिया चम्चा
    घिउ वा तेल  ५०० एम.एल.
    नुन तथा खोर्सानी  स्वाद अनुसार
    बेसन  १० ग्रा.
     
    अण्डालाई फुटाएर एउटा गहिरो कचौरामा राखी, त्यसमा नुन, खोर्सानी, हर्दी, बेकिङ्ग पाउडर सबैलाई राम्ररी मिलाई फिटी दिने र दलदले बनाई राख्नु पर्छ। च्याउलाई राम्रो सफा गरी ईच्छा अनुसारको टुक्रा बनाउँनु पर्छ र नुन पानीमा हल्का उसिन्ने वा नुन पानीले हल्का स्टीम गर्न पर्छ । अव मध्ययम प्रकारको आगोको आँचमा घिउ वा तेललाई तताएर राख्नु पर्छ। च्याउलाई मरमसलाको दलदलेमा डुवाएर थालमा राखिएको ब्रेड क्रममा चोप्ने र तेलमा फ्राई गर्नु पर्छ। फ्राई गर्ने भाँडाको आकार अनुसार तयारी च्याउलाई हलुका रुपले दुबैतर्फ फर्काई–फर्काई सुनौलो रंग भएसम्म पकाउँने र फराकिलो भाँडामा कागज वा कपडा माथि राख्नु पर्छ। अव तयार भएको च्याउको पकौडालाई पुदिनाको वा सिलामको अचारसँग खान स्वादिष्ट हुन्छ।
     
    च्याउको सलाद :
    च्याउ  १ कप
    दही १ कप
    सलाद ड्रेसिङ्ग  १०० ग्रा.
    आलु वा कुखुराको मासु  १ कप
    नुन, खोर्सानी, चीनी स्वाद अनुसार
    कागतीको रस, १ चिया चम्चा
    च्याउलाई राम्रो सफा गरी ईच्छा अनुसारको टुक्रा बनाएर नुन पानीमा उसिन्ने वा नुन पानीमा स्टीम गर्नु पर्छ। त्यसै गरी साकाहारीलाई आलु वा मांसहारीलाई कुखुराको मासुलाई राम्रो सफा गर्ने र ईच्छा अनुसारको टुक्रा बनाई उसिन्नु पर्छ। अव दहीमा नुन, खोर्सानी, कागतीको रस वा भिनिगर वा चिनी स्वाद अनुसार र सलाद ड्रेसिङ्ग मिलाई फिट्नु पर्छ। तयारी भएको च्याउ र आलु वा चिकेन र आलु मिलाएर सलाद थालीमा हरियो लेटस वा मौसम अनुसारको हरियो सागको बेडमाथि सफा तरिकाले राखेर माथिबाट धनिया वा सोँफको मसिनो चपले ड्रेसिङ्ग गर्ने र आवश्यकता अनुसार र स्वाद अनुसार हरेक भोजनमा स्वादिष्ट च्याउको सलादको आनन्द लिन सकिन्छ।
    च्याउको सुप :
    च्याउ  १२५ग्रा.
    घिउ  २ ठूलो चम्चा
    मैदा  २ ठूलो चम्चा
    दुध  २ कप
    नुन  स्वाद अनुसार
    च्याउलाई राम्रो सफा गर्ने र मसिनो टुक्रा बनाई चप गर्नु पर्छ। त्यसलाई एक कप दुध र एक कप पानीमा राम्रो पकाउँनु पर्छ। त्यसमा खाहारेको घिउ, दुध र मैदालाई पानीमा झोलिलो बनाई विस्तारी विस्तारी मध्ययम आ“च भएको आगोमा पकाउनु पर्छ। अव चप गरिएको च्याउलाई पनि त्यसमा राख्ने र मन्द तापमा पाँचदेखि सात मिनेट पाक्न दिने र तातो सुप बउलमा राम्रो सफा गरी राखेर माथिबाट हरियो धनिया वा सोँप र खोर्सानीको चपको मसिनो धुलोले ड्रेसिङ्ग गरी तातो तातो खानु मज्जा हुन्छ।
     
    च्याउको पुलाउ :
    च्याउ  ३००ग्रा.
    बासमती चामल  २ कप
    जिरा दाना  १ चिया चम्चा
    घिउ वा तेल  ठूलो चम्चा
    हर्दी पाउडर  १ चिया चम्चा
    पानी ३ कप
    नुन  स्वादअनुसार
    च्याउलाई राम्रो सफा गरी ईच्छा अनुसारको टुक्रामा काट्नु पर्छ। चामललाई राम्रो सफा धुई पखाली पकाउँनको लागि तयार पार्ने र टहकाएको घिउ वा तेलमा जिराको दानालाई पड्काई पखालिएको चामललाई ओईरिदिने र मन्द आँचभएको आगोमा चामललाई हल्का पकाउँनु पर्छ। अव अर्कोतर्फ च्याउलाई हल्का रुपले घिउ वा तेलमा जिरादानालाई पड्काई च्याउलाई नुन, खोर्सानी र हर्दी मिसाएर सःत्ते गर्नु पर्छ। आधा भाग बाहिर निकाली हल्का पाकेको चामललाई सःत्ते गरिएको च्याउमाथि आधा ओईरिदिने र आधा बाँकी च्याउलाई चामलमाथि विच्छ्याई बाकी चामालमाथि राखी छिपछिपे पानी राखी मन्द आँचको आगोमा करिव दस मिनेट पानी सुक्ने गरी पकाई तातो–तातो पस्कन सकिन्छ।
    च्याउको तरकारी :
    च्याउ  २५० ग्रा.
    घिउ वा तेल  ३ ठूलो चम्चा
    जिरा दाना  १ चिया चम्चा
    टमाटर  १०० ग्रा.
    हर्दी पाउडर  १ चिया चम्चा
    प्याज  १०० ग्रा.
    नुन  स्वाद अनुसार
    अदुवा , लसुन  १ चिया चम्चा
    च्याउको तरिकारीको लागि च्याउलाई राम्रो सफा गरी ईच्छा अनुसारको टुक्राको बनाई तयार गर्नु पर्छ। त्यसै गरी प्याज र टमाटरलाई पनि मसिनो चप बनाई कचौरामा तयार गरी राख्नु पर्छ। अव कराईमा मन्द प्रकारको आँच भएको आगोमा घिउ वा तेललाई खहराउँने र जिरा दाना पड्काएर आधा चिया चम्चा बेसारको पाउडर तातिएको तेलमा राख्ने र अधुवा लसुनको पेस्टलाई भुट्नु पर्छ। रातो रंंग भएपछि प्याज र लसुनको चपलाई पनि भुटिदिने र राम्रो पाकिसकेपछि तयारी च्याउलाई ओईरी दिने र स्वाद अनुसारको खोर्सानी पाउडर, धनिया पाउडर र अरु वासानादार मरमसला पनि हालेर पकाउँन सकिन्छ। अव च्याउ पनि पाकिसके पछि ईच्छा अनुसारको पानी राखेर ढक्कनले छोपेर उमल्ने र पूर्णरुपले पाकिसके पछि बाहिर निकालि सर्भिंग बउल वा कचौरामा राखी हरियो सोप वा धनियाको चपको मसिनो माथिबाट छर्केपछि च्याउको तरकारी तयार हुन्छ।
     
    च्याउको दाल :
    च्याउ  १५० ग्रा.
    मास वा चना  १ कप
    अदुवा  ५० ग्रा.
    लसुन  २५ ग्रा.
    टमाटर र प्याज  १ कप
    घिउ वा तेल २ ठूलो चम्चा
    नुन, खोर्सानी स्वादअनुसार
    दुध  १०० मि.लि.
    मास वा चनालाई राम्रो सफा गरी ठूलो कराईमा अलिकति तेल खहराएर बेसार पाउडरलाई झ्वाई पारी ओईरी दिने र गल्नेगरी पकाउँनु पर्छ। अव अर्कोतर्फ एउटा कराईमा घिउ वा तेलमा लसुसन र अधुवाको पेस्टलाई भुट्ने र रातो भएपछि टमाटर, प्याज र च्याउको चपलाई पनि घोटेर पकाउँनु पर्छ। अव त्यसमाथि पहिले नै पकाएर राखिएको चना वा मासको दाललाई राखी स्वाद अनुसारको नुन र खोर्सानी राखी मन्द आँच भएको आगोमा एक–एक डाढु गर्दै दुध हाल्दै कराईमा घोटी–घोटी पकाउँने र अव ठिक्क दल–दले दालको रुप लिएपछि कराईबाट बउलमा वा कचौरामा राखी माथिबाट हरियो धनियाँको मसिनो चपले ड्रेसिङ्ग गरेपछि खान तयार हुन्छ।
    च्याउको अचार :
    च्याउ  १५० ग्रा.
    खुर्सानी पाउडर  १ चिया चम्चा
    जिरा पाउडर  १ चिया चम्चा
    कागतीको रस  चौथाई कप
    बेसार पाउडर  १ चिया चम्चा
    तोरीको तेल २ ठूलो चम्चा
    नुन  स्वादअनुसार
    अदुवा  र लसुन २ ठूलो चम्चा
    च्याउलाई धोई पखाली मसिनो चप गर्नु पर्छ। तोरीको तेललाई कराईमा तताई बेसार पाउडर तेलमा राख्ने वितिकै अधुवा र लसुनको पेस्टलाई भुट्नु पर्छ। अव च्याउको चपलाई पनि राखी स्वाद अनुसारको मरमसला हली चलाई रहने र सबै पेस्टको रुपमा दलदले भईसकेपछि कागतीको रसहाली फेरी एकपटक चलाउनु पर्छ। तयार अमिलो र पिरो च्याउको वासानादार अचार तयार हुन्छ ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast