मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    ‘ऐश्वर्य’ को फिल्म युनिटले थाल्यो पोखराबाट मोफसल टुर

    सोमबार, ३० असोज २०७४, आहाखबर

    काठमाडौं, असोज ३० । 

    आगामी कार्तिक ९ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’ को फिल्म युनिटले मोफसल टुरको सुरुवात पोखराबाट गरेको छ । सिनेमाको प्रचार गर्नुका साथै मोफसलका सञ्चारकर्मीहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने लक्ष्यसहित टुरको आयोजना गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रलाई नायक रमेश उप्रेतीले निर्माण गरेका हुन् । 


    आइतबार कास्की चलचित्र पत्रकार संघको आयोजनामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा फिल्मका कलाकारहरु रमेश उप्रेती, प्रशान्त ताम्राकार, निर्मल शर्मा तथा अभिनेत्री दीपिका प्रसाईं लगायत उपस्थित थिए । सम्मेलनका क्रममा आफ्ना कुरा राख्दै निर्माता, कलाकार तथा नायक रमेश उप्रेतीले आफूले नेपाली सिनेमा क्षेत्रमा एउटा स्तरीय फिल्म बनाउने कोशिश गरेको बताए । उप्रेतीले आफूले कलाकारिताबाट संगालेको अनुभवलाई ‘ऐश्वर्य’मा प्रयोग गरेको तथा दर्शकलाई मन पर्ने फिल्म बनाएको समेत दाबी गरे । 


    एक फरक प्रसँगमा बोल्दै नायक उप्रेतीले एउटा फिल्म खेल्दैमा कोही स्टार नहुने तथा केही विशेष समय फिल्मलाई दिएर भिन्न–भिन्न ब्यनारबाट आउने कलाकार नै वास्तविक स्टार हुने बताए ।  फिल्ममा सुपर मोडलको भूमिका निर्वाह गरेकी ‘ऐश्वर्य’की नव नायिका दीपिका प्रसाईंले आफूले पहिलो फिल्म भएता पनि सक्दो काम गरेको बताइन् ।

    त्यस्तै, फिल्मका अर्का कलाकार प्रशान्त ताम्राकारले ‘ऐश्वर्य’मा आफू नेगेटिभ क्यारेक्टरमा रहेको भएतापनि आफूमा सबैखालको अभिनय क्षमता रहेको बताए । ताम्राकारले यसअघि टाटा बाईबाई, मुखौटा, सम्बोधन लगायतका विभिन्न चलचित्रमा अभिनय गरिसकेको छन् । 

    चलचित्र ‘ऐश्वर्य’ को टीम टुर पोखरा, चितवन हुँदै हेटौंडा पुगेर सकिने छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, अर्जुनजंग शाही लगायतका कलाकाहरुको पनि अभिनय हेर्न सकिने छ भने यसका संगीतकार तथा गीतकार अर्जुन पोखरेल रहेका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast