सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    दुई दशकपछि स्थानीय चुनाव हुने नै भयो, मनोनयन प्रक्रिया १० बजेबाट सुरु भयो

    मंगलवार, १९ बैशाख २०७४, आहाखबर

    काठमाडौंः दुई दशकपछि यही वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनको लागि मनोनयन गर्दा हुँदैछ । नयाँ किसिमका राजनीतिक घटनाक्रम र  स्थानीय निर्वाचन हुने नहुने अन्योलताका बीच मनोनयन दर्ता हुन लागेको हो । 

    दलहरूले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने मुख्य केही स्थानमा आजै बिहानसम्म टुंग्याइसक्ने तयारीमा छन् । यससँगै पहिलो चरणको निर्वाचन कार्यक्रम सुरु हुनेछ । यो प्रक्रियाले निर्वाचन हुने नहुने विषयमा रहेको आशंका पनि मेटिनेछ । 

    उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० देखि ५ बजेसम्मको समय तोकिएको छ । पूर्वनिर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने निर्वाचन आयोगले जनाएको छ । देशभरका कुल ७४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ नं. का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । 

    बाँकी ४ प्रदेशका स्थानीय तहमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव गर्ने सरकारी तयारी छ। दोस्रो चरणका लागि जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ । 

    संविधान संशोधन र स्थानीय तहको संख्या थपी मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले तराईका जिल्लाहरूसहित चारवटा प्रदेशका ४३ (दुई÷दुई प्रदेशमा पर्ने नवलपरासी र रुकुमसहित) जिल्लाको निर्वाचन दोस्रो चरणमा सारिएको हो । तराईका २० जिल्लामध्ये चितवन मात्र पहिलो चरणमा परेको छ । 

    ठूलो हिस्सा दोस्रो चरणमा परे पनि काठमाडौं, ललितपुर, पोखरा–लेखनाथ र भरतपुरसहित चारवटै महानगरपालिकामा पहिलो चरणमै निर्वाचन हुँदैछ । अन्य ९३ नगरपालिका पहिलो चरणमा परेका छन् । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो तथा १, २, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । 

    रुकुम र नवलपरासी जिल्लाका स्थानीय तहहरूमा दुईवटै चरणमा निर्वाचन हुनेछन् । जिल्ला टुक्राएर प्रदेश बनाइएकाले नवलपरासीको ८ र रुकुमको ६ वटा स्थानीय तहमा पहिलो चरणमा तथा नवलपरासीको ७ र रुकुमको ३ स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछन् । पहिलो चरणमा ७ हजार मतदान केन्द्रमा मतदान हुनेछ ।

    देशभर १८ हजार ५७२ मतदान केन्द्र तोकिएको छ । त्यस्तै, एक करोड ४० लाख ५४ हजार ४८२ मतदातामध्ये ५० लाखले पहिलो चरणमा मतदान गर्नेछन् । मनोनयन दर्ताका लागि उम्मेदवारले आफूले उम्मेदवारी दिने पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक कागजपत्रको प्रमाण बुझाउनुपर्ने छ । उम्मेदवारी दर्ता प्रत्येक स्थानीय तहको केन्द्रमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । 

    राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने व्यक्तिले आफ्नो मनोनयन पत्रसँगै सम्बन्धित दलले दिएको औपचारिक पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन ऐनले वडा सदस्यका लागि पाँच सय, वडाअध्यक्षका लागि एक हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि एक हजार पाँच सय रुपियाँ धरौटी तोकेको छ । 

    तर महिला, दलित, अल्पसंख्यक लगायतको हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आर्थिक रूपले विपन्न उम्मेदवारले पनि उक्त सुविधा पाउनेछन् । छुटका लागि सिफारिस सम्बन्धित गाउँपालिका वा नगरपालिकाले गरेको हुनुपर्छ । 

    गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकामा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडाबाट चार जना सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । एक जना मतदाताले सात पदका लागि मत हाल्न पाउनेछन् । कुनै एक व्यक्तिले एकभन्दा बढी पदमा उम्मेदवारी दिन पाउने छैन । 

    अध्यक्ष÷उपाध्यक्ष वा प्रमुख÷उपप्रमुखमा दुवै पदमा उम्मेदवारी दिने दलले कुनै एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी बाध्यता छ । त्यस्तै चारजना वडा सदस्यमा एक दलित महिलासहित दुई महिला सदस्यका लागि सिट आरक्षित गरिएको छ । 

    मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवार हुने व्यक्ति २१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम हुनुपर्छ । उम्मेदवारको मनोनयनपत्रमा वडा अध्यक्ष/सदस्य उम्मेदवारीको हकमा सम्बन्धित वडाका र अध्यक्ष÷उपाध्यक्ष तथा नगरका प्रमुख/उपप्रमुखको हकमा सम्बन्धित गाउँ वा नगरक्षेत्रमा मतदाता रहेका एक जना प्रस्ताव र अर्को एकजना समर्थकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । 

    मनोनयनपत्रसँगै उम्मेदवारले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण बुझाउनुपर्छ । दलित महिला सदस्यका लागि उम्मेदवारी दिनले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दलित समुदायको हो भनी प्रमाणित गरेको पत्र दिनुपर्छ । संविधान र ऐनले उम्मेदवारका लागि कुनै शैक्षिक योग्यता तोकेको छैन ।

    तर, आयोगले तयार पारेको मनोनयन फारममा शैक्षिक योग्यता र सम्पत्ति विवरणसहितको व्यक्तिगत विवरण उम्मेदवारले भर्नुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवारीको अन्तिम टुंगो लागेपछि निर्वाचन अधिकृतको कार्यालयले वैशाख २२ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

    संसदभित्र रहेका २७ दलबाट उम्मेदवार भएकाहरूले आफ्नो दलगत चिह्न पाउने छन् भने अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नहरूको समूहबाट निर्वाचन चिह्न छान्ने छन् । अन्य दल वा स्वतन्त्र उम्मेदवारले आयोगले निर्धारण निर्वाचन चिह्नहरूको समूहबाट चिह्न पाउने छन् । 

    प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमबार अयोधिप्रसाद यादवले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री सम्बन्धित जिल्लामा पुर्यार्इसकेको सोमबार सार्वजनिकरुपमा बालेका छन् । उनले सुरक्षाको भरपर्दो व्यवस्था बजाउन सुरक्षा निकायलाई निर्देशन दिँदै निर्वाचनमा खटिएका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast