सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एक मधेसी नेता भन्छन– जनता अहिले कै संविधानमा खुशी छन, किन चाहियो संशोधन ?

    शनिबार, १६ बैशाख २०७४, आहाखबर

    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेता रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् । 

    रिपोर्टर्स क्लवमा शनिबार बोल्दै उनले संशोधनविना अहिलेकैै संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताए । महासेठले बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि एमालेसँग कुनै छलफल तथा सहमति नगरिकन संशोधन प्रस्ताव आउनु नै दुर्भाग्य भएको टिप्पणी गरे । 

    उनले भने, ‘बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि हामीसँग कुनै छलफल गरिएन, किनकी उहाँहरुलाई थाहा छ, एमालेले यो कुरा मान्दैन भनेर, देश र जनताको हितमा भएको भए पो उहाँहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो ?’ नेता महासेठले मोर्चाका नेताहरुले भारतीय दूताबास गएर बैठक गर्ने गरेको समेत आरोप लगाए । उनले भने, ‘उहाँहरुको बैठक दूतावासमा हुन्छ, त्यो पनि राती होइन, दिउँसै १२ बजे । उहाँहरुको पार्टी हेडक्वार्टर छैन र ?’

    एमालेलाई बदनाम गराउन अहिले खेल भइरहेको समेत महासेठको आरोप थियो । उनले सत्तारुढ दल राप्रपाको चरित्र पनि जनताले परिक्षण गरिसकेको बताउँदै राप्रपा अहिले काँग्रेस, माओवादी र मधेसवादी दलको कित्तामा उभिएको आरोप लगाए ।

    त्यस्तै उनले ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउन लागिएकोप्रति टिप्पणी गर्दै भने, ‘यो त मधेसी मधेसीबीच लडाउन ल्याउन लागेको हो, हार्ने ठाउँमा संख्या बढाउन खोजिएको छ, नेपालको स्वाधिनता र राष्ट्रियतामा आक्रमण गर्न पाईदैन् ।’ 

    महासेठले आफ्नो पार्टीले जस्तोसुकै मुल्य चुकाउनु परे पनि संशोधन पास गर्न नदिन पछि नहट्ने भन्दै देश र जनताको हित विपरित आएको प्रस्तावको विरोध गर्ने र अन्तिमसम्म पनि लड्ने स्पष्ट पारे । उनले आफूहरु चुनावको पक्षमा रहेकोले वर्तमान सरकारले घोषित मितिमा चुनाब गराउन नसके राजीनामा दिनुपर्ने बताए । महासेठले भने, ‘चुनाव गराउन नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ, तर चुनावको विकल्प छैन् ।’

    सरकारले संशोधन पारित गराउनको लागि चलखेलमा लागेको भन्दै महासेठले भने, ‘अहिले व्यापक चलखेल भैरहेको छ, यस्तो चलखेल नहोस्, तर संसदबाट पारित हुन्छ भने हामीले नतिजा त मान्नैपर्ने हुन्छ, तर हामी आफ्नो अडानबाट दायाँबायाँ हुँदैनौं ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast