सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    कुनै पनि हालतमा चुनाव हुन्छः पौडेल, हुँदैनः सुजाता

    बिहिवार, २६ फागुन २०७३, आहाखबर

    पर्वतः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने दावी गरेका छन् । बिहीबार बिहान पर्वत कुश्माबजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने भन्दै यो निर्वाचन कुनै पनि हालतमा हुने बताए । 

    उनले मिति घोषणासँगै सिंगो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने ? भन्ने कारण नै नरहेको बताए । मधेसवादी दलहरुले भन्दैमा चुनाव स्थगन नहुने दाबी गरे ।

    वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने जरुरी रहेको बताए । 
    हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्ने उनले बताए । 

    राष्ट्रिय सहमतिविना चुनाव हुँदैनः सुजाता
    काँग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छन् । भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा उनले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताइन । 

    तीन दल मिल्नुको विकल्प नरहेको सुजाताको भनाई थियो । उनले सबै दल मिलेर चुनावमा जानुपर्ने भन्दै दलहरुबीचको मतभेदका कारण समस्या आएकाले राष्ट्र कमजोर भएको बताइन ।

    दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने गरेकाले नेपालको अन्तर्राष्ट्रिय छवी बिग्रिएको भन्दै सुजाताले सबैले धैर्यता गरेर निर्वाचनमा जानुपर्ने बताइन । उनले मधेसी मोर्चाको संविधान संशोधनको मागलाई कहीं कतै समावेश गर्न आवश्यक भए पनि पूर्णरुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने बताइन । 

    मधेसी मोर्चाबिना निर्वाचन गए मधेस अशान्त हुने बताउँदै सुजाताले यसले रक्तपात हुने तर्क गरिन । मधेसी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्ने उनको तर्क छ । सप्तरी घटनाको मुख्य कारण सरकारको कमजोर सुरक्षा व्यवस्था भएको सुजाताको भनाई छ । 

    सरकारको बच्चापनले यस्तो समस्या आएको भन्दै उनले कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताइन । एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको सुजाताको दावी थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast