सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    यादवको घोषणाः अब एमालेलाई मधेसमा अवरोध गर्दैनौं, ढुक्क भएर कार्यक्रम गर्नुस

    बुधबार, २५ फागुन २०७३, आहाखबर

    काठमाडौंः मधेसी मोर्चाका एक नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले अब कार्यक्रम गर्दा अवरोध नगर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले आफूहरुको अवरोधको नीति नरहेको स्पष्ट पारे ।  

    यादवले भने, ‘अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

    उनले एमालेलाई आफूहरुले तराई–मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । यादवले भने, ‘तपाईंहरुको मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी बिथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौं ।’ 

    मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको भन्दै उनले  भने, ‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ 

    यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनै पनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्नेयादवले  स्पष्ट पारे । उनले भने, ‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

    उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए । उनले भने, ‘एमालेको अभियानबारे मधेवी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ?, यो नश्लवादी गतिविधि हो ।’

    उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको बताए । ‘यादवले थपे, ‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भीर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’

    एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने उनको सुभाव थियो । यादवले भने, ‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’ उनले एमालेले मधेसी जनतालाई उत्तेजित बनाउने काम गरेको गुनासो पोखे । ‘मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक भन्ने काम गरियो, यस्तो गर्नु हुँदैन्थ्यो ।’ – यादवले भने । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast