सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    चुरेको निष्कर्ष– सप्तरी घटनामा मोर्चा दोषी, उसैले जिम्मेवारी लिनुपर्छ

    बुधबार, २५ फागुन २०७३, आहाखबर

    काठमाडौंः चुरेभावर राष्ट्रिय एकता पार्टीले सोमबार सप्तरीको राजविराजमा घटेको घटनाको दोषी मधेसी मोर्चा हो भन्दै उसैले यस घटनाको जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ । 

    सो पार्टीले बुधबार विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने, भाला लाठी जस्ता घरेलु हतियार प्रहार गर्ने र अराजकता, उदण्डताजस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण नै मानवीय क्षति हुन पुगेको बताएको छ । 

    राजविराज घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै चुरेभावरले घटनाका मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

    पार्टीका अध्यक्ष बद्री न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण सबैको दायित्व हो भन्दै लोकतन्त्रलाई मिलेर संस्थागत गर्ने बेला पछिल्लो समयमा भइरहेका अराजनीतिक क्रियाकलापले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फाइदा नपुग्ने उल्लेख गरिएको छ । 

    विभिन्न समूह, मोर्चा र संगठनका नाममा भइरहेका अराजनीतिक क्रियाकलाप बन्द हुनुपर्ने बताइएको छ । शान्तिपूर्ण रुपमा कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछौ भन्दै चुरेभावरले कुनै पनि दलको पूर्व घोषित कार्यक्रमलाई विथोल्ने गरी जुधाएर ल्याइएका संघर्षले लोकतन्त्र र गणतन्त्रलाई फाइदा पुग्दैन भनेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast