सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेले भन्यो- राजविराज घटनामा हामी होइन, यी कारण मोर्चा दोषी छ

    मंगलवार, २४ फागुन २०७३, आहाखबर

    काठमाडौंः सप्तरी घटनामा प्रत्यक्ष जोडिएको नेकपा एमालेले उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । घटना हुनुमा एमालेसमेत दोषी रहेको भन्दै सो दलका नेताहरुलाई कारवाही गर्न माग भइरहेको बेला एमालेले यसमा आफूहरु दोषी नरहेको दावी गरेको हो । 

    मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा गरिएको पत्रकार सम्मेलनमा राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्यो । घटनाको यथार्थ छानबिन गर्न सरकार र मानव अधिकार टोलीलाई एमालेले आग्रहसमेत गरेको छ । 

    एमाले महासचिव ईश्वर पोखरेलले राजविराज घटनालाई नियोजित भएको दाबी गरे ।  झापाको काँकडभिट्टाबाट फागुन २१ गतेदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको समयमै मोर्चाका कार्यकर्ताले सिरहामा विरोध, अवरोध, प्रदर्शन सुरु गरेको, एमाले कार्यकर्तालाई कालोमोसो दल्ने र कार्यक्रम तयारी गर्न नदिनुले पनि राजविराज घटना नियोजित रहेको प्रष्ट हुने एमालेको तर्क छ । 

    मोर्चासँगको सहमतिमा पूर्वनिर्धारित कार्यक्रमस्थल सार्ने र अप्रिय घटना हुन नदिन सरकार, स्थानीय प्रशासनलाई जानकारी गराए पनि यस्तो घटना हुनुले देशलाई अस्थिरतामा धकेल्ने, निर्वाचन हुन नदिने मोर्चाको संस्थागत योजना देखिएको एमालेको आरोप छ । 

    एमाले राजविराजको घटनाको सम्पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्ने भन्दै यसमा एमालेको कुनै दोष नरहेको दावी गरेको छ । सरकारले सिरहाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुलाई फिर्ता बोलाइएकोमा आपत्ति जनाउँदै यसबाट झन् आशंका बढाएको सो पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    घटना गराउन एमाले कार्यकर्ताले सुरुमा ढुंगा हानेको भन्ने प्रचार गलत हो भन्दै एमालेले सप्तरी, सिराहमा आफ्नो पार्टी कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय, मानव अधिकार कार्यालयको गाडी तोडफोड लगायत घटना आपत्तिजनक भएको बताएको छ । 

    एमालेले फागुन २१ देखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान २४, २५ र २६ गतेलाई स्थगित भए पनि २७ गतेदेखि पुनः सञ्चालन हुने एमालेले स्पष्ट पारेको छ । राजविराज घटनामा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको थियो भने दर्जन बढि घाइते भएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast