सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    मोर्चाको धम्कीपछि एमालेले सरकारसँग माग्यो शान्ति सुरक्षा

    सोमबार, २३ फागुन २०७३, आहाखबर
    फाइल फोटो

    इटहरीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेसलाई केन्द्रीत गर्दै शनिवारबाट सुरु गरेको मेचीमहाकाली अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको भन्दै एमालेले सरकारसँग शान्ति सुरक्षा मागेको छ । 

    आफ्नो अभियान असफल बनाउन स्वयम सरकारले समेत अप्रत्यक्ष रुपमा सहयोग गरेको एमालेको ठहर छ । उसले आफ्नो अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ । 

    मोर्चाका कार्यकर्ताले सिरहा, सप्तरीलगायतका स्थानमा गरिएको कार्यक्रमलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधसबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले ठहर गरेको छ । 

    गृहमन्त्रीको अभिव्यक्ति र मोर्चाको धम्की दुवै गैरजिम्मेवार र अलोकतान्त्रिक गतिविधि हुन भन्दै एमाले नेता झलनाथ खनालले आफूहरुको अभियानलाई परपर्दो सुरक्षा प्रदान गर्न माग गरे । एमालेको स्थायी समिति बैठक इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरमा बसेको थियो । 

    मेची महाकाली अभियानको जनलहर देखेर सत्ताधारी र मधेसवादी दलहरु अत्तालिएको भन्दै एमालेले सोही कारण एमालेको अभियान असफल बनाउन षड्यन्त्र गरिरहेको निचोड निकालेको छ । 

    अभियानलाई सुरक्षा दिन नसके एमालेले प्रतिबाद गर्ने भन्दै नेता खनालले आफूहरुलाई आएको धम्की र आक्रमणका बारेमा सरकारलाई जानकारी गराइसकिएको बताए । अराजक तत्वहरुबाट अबरोध सिर्जना गरी कुनै अप्रिय घटना घटे त्यस्को सम्पूर्ण जिम्मेवार सरकारले लिनुपर्ने उनको तर्क थियो । 

    अर्का नेता माधव नेपालले धरानमा एमालेलाई कसैले चाहेर पनि रोक्न र छेक्न नसक्ने तर्क गरे । उनले देशभर एमालेको जनलहर देखेर सरकार सञ्चालन गर्ने माओवादी, कांग्रेस मधेसका ठालु भनाउँदाहरू थर्कमान भएको बताए ।

    एमालेको सभास्थल नजिकै शंकास्पद बस्तु

    मेची(महाकाली अभियान अन्तर्गत एमालेले सप्तरीको औद्योगिक क्षेत्रमा सोमबार गर्न लागेको आमसभा स्थल नजिकै शंकास्पद बस्तु फेला परेको छ । मोर्चाको धम्की र आक्रमणले एमाले कार्यकर्ताहरु तनावमा रहेको बेला सभास्थल नजिकै शंकास्पद वस्तु फेला परेको हल्लाले थप तनाव सिर्जना भएको छ । 

    रातो कपडामा बेरिएको शंकास्पद बस्तु बम हुन सक्ने आशंका गरिएकोले बम डिस्पोजल टोली बोलाइएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast