सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न मोर्चालाई मानवअधिकार आयोगको ध्यानाकर्षण

    आईतवार, २२ फागुन २०७३, आहाखबर

    काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले एमालेको पूर्वनिर्धारित र शान्तिपूर्ण कार्यक्रमलाई नबिथोल्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ध्यानाकर्षण गराएको छ । यस्तो कदम मानवअधिकारविपरीत हो भन्दै आयोगले तत्काल त्यस्ता गतिविधि रोक्न मोर्चालाई आग्रह गरेको छ । 

    आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्मविपरीत कार्य हो भन्दै भनेको छ, ‘आफ्ना फरक मतहरू राख्ने शान्तिपूर्ण बाटोहरू हुँदाहुँदै एमालेको पूर्वानिर्धारित कार्यक्रमलाई बाधा अवरोध पुर्‍याउने उद्देश्यले संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट सो घटना घटाउनु मानव अधिकारको मूल्यमान्यता विपरीत देखिन्छ ।’ 

    एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि त्यसलाई बिथोल्ने गरी अरूले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन भन्दै आयोगले २०६३ सालमा रौतहटको गौरमा भएको घटनालाई समेत स्मरणसमेत गराएको छ ।

    हिंसात्मक बाटोको परिणाम ख्याल गर्न आयोगले मोर्चाको ध्यानाकर्षण गराएको छ । तराईका जिल्लामा केन्द्रित एमालेका सभा र जुलुसहरूसहितको ‘मेची–महाकाली अभियान’ लाई मधेसी मोर्चाले अवरोध पुर्याइरहेको घटना सार्वजनिक भएपछि आयोगले मुख खोलेको हो ।

    गत शुक्रबार एमाले सप्तरीका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले हातपात गरी कालो मोसो दलेका थिए भने एमाले सांसद रञ्जु झा चढेको जिपमाथि पनि ढुंगामुढा भएको थियो ।

    त्यस्तै फागुन १५ गते रौतहटमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केही घाइते भएका थिए । आयोगले दुव्र्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न र आगामी दिनमा हुनसक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न पनि सरकारलाई आग्रह गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast