सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेको मेची-महाकाली अभियान सुरु, सरकारको दोधारे चरित्रले चुनाव हुनेमा आशंकाः ओली

    आईतवार, २२ फागुन २०७३, आहाखबर

    झापाः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाको काँकडभिट्टाबाट शनिबार ‘मेची-महाकाली राष्ट्रिय अभियान' सुरु गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस अभियान काँकडभिट्टामा आयोजित आमसभामा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा फहराएर थालनी गरेका हुन । 

    cयो अभियानअन्तर्गत शनिबार झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा आयोजना गरियो । मधेसी दलहरुले उठाएका मुद्दालाई चर्को आलोचना गर्दै आएको एमालेले तराईका विशेषगरी मधेसी जनतामा रहेको आफ्नो पार्टीप्रतिको भ्रम चिर्न भन्दै अभियान थालनी गरेको हो । 

    तराईकेन्द्रित दलले आफ्ना मुद्दामा तगारो ठानेको एमालेको ठहर छ । यता मधेसी दलहरुले भने एमालेको अभियानले तराईमा द्धन्द्ध बढाउने भन्दै तराईमा अभियान नचलाउन चेतावनी दिँदै आएका छन् । मेची-महाकाली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन तथा चुनावको सुनिश्चितताका लागि भएको एमाले नेताहरूले दावी गरेका छन् । 

    एमाले अध्यक्ष ओलीले संसद्मा सरकारले पेस गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुन नदिने दोहोर्‍याए । उनले यो विद्येयक देश र जनताको हितमा नरहेको र राष्ट्रियतालाई आघात पुग्ने भन्दै आफूहरुले पास गर्न नदिने बताए । 

    संसदमा पेश भएको जनभावना विपरितको विद्येयक पास हुन दिन्न भन्नु संसदीय अभ्यास र लोकतान्त्रिक अभ्यास हो भन्दै ओलीले एमालेले देशलाई आघात पुग्ने कुरामा चुप लागेर नबस्ने बताए । 

    उनले सरकारको दोधारे चरित्रका कारण आफूहरू चुनाव हुने कुरामा ढुक्क हुन नसकेको बताए । अध्यक्ष ओलीले अझै पनि सरकार निर्वाचन गर्ने कि संविधान संशोधन गर्ने भन्ने दोधारमा रहेको आरोप लगाए । 

    प्रधानमन्त्रीले एमालेसँग एउटा र मधेसी मोर्चासँग अर्कै कुरा गर्ने गरेका कारण निर्वाचन हुनेमा आफू ढुक्क नरहेको उनको भनाई थियो । ओलीले भने, ‘यो सरकारले हामीसँग एउटा कुरा गर्छ र मधेसी मोर्चासँग अर्कै कुरा गर्छ, तैपनि निर्वाचन हुन्छ भन्नेमा हामी आशावादी छैनौं ।' सरकारले धर्मर गरे एमालेले निर्वाचन गराएरै छाड्ने उनको दावी थियो । 

    एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले अहिलेको संविधानले सबैको प्रतिनिधित्व गरेको भन्दै ९० प्रतिशतभन्दा बढीको समर्थनमा बनेको संविधान अध्ययन नै नगरी मधेसका केही ठेकेदार नेताले जनतामा भ्रम फिँजाएको आरोप लगाए ।

    मेची-महाकाली अभियानको शनिबारको कार्यक्रम झापामै विश्राम गराइएको छ । यो अभियानअन्तर्गत पूर्वपश्चिम राजमार्गआसपास ३३ ठाउँमा आमसभालगायत कार्यक्रम गर्ने एमालेले जनाएको छ । शनिबारको कार्यक्रममा हजारौंको सहभागिता थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast