सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेले लट्ठी लिएर मधेस आए नमस्कार नगर्ने ठाकुरको चेतावनी

    शनिबार, २१ फागुन २०७३, आहाखबर
    फाइल फोटो

    काठमाडौंः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले यसले मधेसमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन् । 

    नेता ठाकुरले शनिबार राजधानीको एक कार्यक्रममा भने, ‘अहिले मधेस अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भइरहेका छन्, यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ ।’

    यसले स्थितिलाई भड्काउने भन्दै उनले अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्ने बताए । ठाकुरले भने, ‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, यदि एमाले लठ्ठी लिएर आए उसले मधेसमा नमस्कार पाउँदैन ।’ यद्यपि आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको ठाकुरले पठाए । 

    एमालेको अभियानलाई प्रतिवाद गर्ने तयारी गर्नुभएको छ अरे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘हामी कहाँ चुप लागेर बसेका छौं र ? हामी त शान्तिपूर्ण आन्दोलन मै छौं, हाम्रो माग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं ।’

    ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । आफूहरु चुनाव विरोध नभए पनि समस्या समाधान गरेर मात्रै चुनाव हुनुपर्ने उनको तर्क थियो । 

    अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने भन्दै उनले सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भिर गल्ती गरेको टिप्पणी गरे । उनले सरकार गठन गर्दा काँग्रेस÷माओवादी केन्द्रले आफूहरुसँग गरेको तीन बुँदे सहमति अनुसार पहिले संविधान संशोधन गरेर मात्रै चुनाव गर्नुपर्ने बताए । 

    स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनलाई आफूहरुले पहिलेदेखि नै अस्विकार गरेको बताउँदै ठाकुरले भने, ‘पूर्नसंरचना गर्दा जनसंख्यालाई ध्यान दिइएन, ५१ प्रतिशत जनताले जम्मा ३५ प्रतिशत पाउने अवस्था छ, यो अवैज्ञानिक र अव्यवहारिक हो, यसलाई सच्याउनुको विकल्प छैन ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast