सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    धुर्मुस– सुन्तलीले मुसहरहरुको लागि नमुना बस्ती बनाउन सुरु गरे, मह जोडीले गरे उदघाटन

    मंगलवार, २६ पौष २०७३, आहाखबर

    महोत्तरीः धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार एक कार्यक्रम गरी बर्दिवास–२ स्थित मुसहर बस्तीमा नमुना बस्ती निर्माणको शिलान्यास गरेको हो ।

    हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाइका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् । 

    बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि मुसहर बस्ती पुगेका थिए ।

    बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । “यो भन्दाअघि सीताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम गर्यो,” उनले भने, “अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छरुन् ।”

    त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । “पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो,” उनले थपे ।

    कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । “म पहिलोपल्ट पूर्वपश्चिम राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएँ । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।

    कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउँदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् । अभियन्ता यादवले मुसहर बस्तीलाई नमुना बस्ती बनाउने कुरा तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगा भएको बताए । 

    चार करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ ।  नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।  

    यस अघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपियाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाई छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले १० लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् । 

    बस्ती निर्माणका लागि मह जोडीले एक लाख सहयोगको बचनवद्धता व्यक्त गरेका छन् भने कलाकार किरण केसीले १० हजार र पत्रकार राजकरण महतोले दशहजार पँँच हस्तान्तरण गरेका थिए ।
    मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए । बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेशनको लक्ष्य छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast