सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    धुर्मुस–सुन्तली अब बालमैत्री नेपाल निर्माणमा लाग्ने

    शनिबार, ४ मंसिर २०७३, आहाखबर

    काठमाडौंः समाजसेवी तथा हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको मन्थलीमा बालमैत्री स्थानीय शासनसम्बन्धी चलचित्र ‘ज्योति’ प्रर्दशन समारोहमा उनीहरुले त्यस्तो घोषणा गरेका हुन् । 

    बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव हुने भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले उक्त चलचित्र निर्माण गरेको हो । 

    धुर्मुस र सुन्तलीले बालमैत्री देश बन्नका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान सुरु गरेको जिकिर गरे । पुनर्निर्माणमा जुटेका उनीहरुले त्यसका साथमा भविश्यका कर्णधार बालबालिकालाई हरेक क्षेत्रमा समान सहभागिता गराउन सके नेपालको भविश्य उज्वल हुने बताए । 

    कार्यक्रममा सहभागी सयौंले हस्ताक्षर गरेर आफ्नो क्षेत्रलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले ‘ज्योति’ चलचित्रले आम नागरिकलाई बालमैत्री समाज निर्माणका लागि प्रेरित गरेको बताए । 

    रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले सहज ढंगमा सबैले बुझ्ने गरी निर्माण भएको चलचित्रले मानिसको सोचाई परिर्वतन गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । एकै पटकमा समाजका अधिकांसलाई सुसुचित गराएर बालमैत्री समाज निर्माणमा चलचित्र निकै सहयोगी हुने उनको भनाई छ । 

    सदरमुकामसँगै गाउँस्तरमा समेत बालमैत्री फिल्म प्रदर्शन गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुलीलगायत अन्य १६ जिल्लाका ३२ ठाउँमा फिल्म प्रर्दशन गर्ने फाउण्डेशनको योजना छ । पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरुमा बालमैत्री समाज निर्माणको अभियान सुरु गरिएको र त्यसपछि देशैभर पुग्ने धुर्मुस सुन्तलीले बताए ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast