सोमबार, असोज ६, २०७६
    बिदेश

    ‘निक इलेक्ट्रो टेक २०१६’ राजधानीमा सुरु, पाँच दिनसम्म चल्ने

    शुक्रबार, ३ मंसिर २०७३, आहाखबर

    काठमाडौंः विद्युत तथा विद्युतीय व्यवसायको विकास, यस क्षेत्रसँग सम्वन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि आयोजना गर्ने उद्देश्यले शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा ‘‘निक इलेक्ट्रो टेक २०१६” सुरु भएको छ ।

    मेलाको उदघाटन उर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको यस प्रदर्शनीको शीर्ष प्रायोजन नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)ले गरेको छ । प्रदर्शनी यो आठौं संस्करण हो । 

    पाँच दिनसम्म चल्ने यस प्रदर्शनीले देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रको विकासमा सहयोगी भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ । नेपालमा बार्षिक ७० देखि ८० अर्बको विद्युतीय कारोबार हुने गरे पनि यसमा नेपालीको उत्पादनको हिस्सा जम्मा १० प्रतिशत मात्रै रहेको निकका कार्यकारी निर्देशक एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले बताए । 

    विद्युत एवं विद्युतीय व्यवसायीहरुले सरकारले विद्युतीय व्यवसायको महत्वलाई बुझ्न नसकेको भन्दै उर्जा कम खपत गर्ने सिएफएल चिमको आयातमा २० प्रतिशतसम्म भन्सार दस्तुर लगाउने सरकारको निर्णयको आलोचना गरेका थिए । उनीहरुले यस्ता वस्तुमा शुन्य भन्सार काम गर्नुपर्ने बताएका थिए । 

    नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले विद्युतको उत्पादन वृद्धिसँगै विद्युतीय व्यवसायको आकार पनि बढेर जाने भन्दै यसको महत्व र आवश्यकतालाई सरकारले ध्यान नदिँदा यस क्षेत्रमा लगानी पनि बढन नसकेको बताए ।

    उनले गुणस्तरीय विद्युतीय सामग्री मात्रै आयात गर्ने र कच्चा उद्योगहरुलाई चाहिने कच्चा पदार्थको आयातमा भन्सार महशुस १० प्रतिशतमा सीमित गर्नुपर्ने बताएका थिए । प्रदर्शनीमा वैकल्पिक उर्जाका सामग्रीहरुको पनि प्रदर्शनी रहेको भन्दै खरेलले एक लाखभन्दा बढिले यसको अवलोकन गर्ने अनुमान गरे । 

    निकका कार्यकारी निर्देशक कुशकुमार जोशीले विद्युतीय सामग्रीहरुको प्रदर्शनीको ठूलो महत्व रहे पनि सरकारले यसको महत्व नबुझेको र चासो नदिएको गुनासो पोखे । निक ट्रान्सफर्मर विदेशी लगानी र प्रविधिमा निर्माण भई विदेशमा समेत निर्यात हुँदै आएको भन्दै यस्ता उद्योगहरुले नै मुलुकमा औद्योगिकीकरणको विकास हुने हो भने । 

    नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीकर्ताको लगानी सरक्षित कसरी गर्ने भन्नेमा सरकारको ध्यान जानुपर्छ भन्दै कुनै पनि आयोजना बनाएपछि ३० देखि ३५ बर्षभित्र सरकारकै हुने भएकोले त्यसलाई निजी क्षेत्रको हो भन्ने हिसावले सरकार र राजनीतिकर्मीले हेर्न नहुने बताए । 

    सरकारले १५ प्रतिशतसम्म महंगो भए पनि नेपाली वस्तु नै उपयोग गर्ने सम्वन्धी नियमावलीलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नसकेकोमा उनले असन्तुष्टि जनाए । उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले ट्रान्सफर्मरलगायत धेरै विद्युतीय सामग्रीमा आत्मनिर्धर हुने अवस्था रहे पनि उद्योग मन्त्रालयले यस्ता उद्योगको विकासमा ध्यान नदिएको बताए । 

    उनले सिएफएल जस्ता थोरै विद्युत खपत गर्ने वस्तुमा शुन्य भन्सार कायम गर्नुपर्ने भन्दै विद्युत उत्पादनका क्षेत्रमा निजी लगानीकर्तालाई आकर्षित हुने बाताबरण बनाउन र नेपाल विद्युत प्राधिकरणलाई सुधार गर्न आग्रह गरे । 

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले विद्युतीय कारोबारका क्षेत्रमा काम गर्ने कामदारको अभाव रहेको भन्दै युवाहरुलाई तालिम दिन सरकारसँग माग गरे । उनले वित्तीय व्यवसायीका हरेक जायज माग लिएर जान चेम्बर तयार रहेको बताए । 

    विद्युतीय व्यवसायी महासंले यस प्रदर्शनीबाट केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उपभोक्तामाझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्ने भन्दै  गत वर्षको प्राकृतिक प्रकोपपछि मुलुक अब पुनर्निमाणतर्फ अग्रसर भइरहेको अवस्थामा सम्पूर्ण विद्युतीय व्यवसायीको तर्फबाट सुरक्षित एवं गुणस्तरीय विद्युतीय सामग्रीहरूको प्रयोग होस् भनी सम्बन्धित सबै निकायलाई सचेत गराउन यस वर्ष “सुरक्षित पुनर्निर्माण” भन्ने नाराका साथ प्रदर्शनीको आयोजना भएको जनाएको छ । 

    प्रदर्शनीमा उर्जा उत्पादन, यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रबिधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको छ ।  

    प्रदर्शनीमा उत्पादनहरूबारे जानकारी दिनुका साथै बिक्री वितरणको समेत व्यवस्था मिलाइने जनाइएको छ । इलेक्ट्रो टेकको यस संस्करणलाई भव्यता प्रदान गर्न तथा प्रदर्शनीप्रति ऐक्यवद्धता जनाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्स, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था –इप्पान), नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल लघु जलविद्युत विकास संघ, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स, नेपाल इलेक्ट्रिकल कन्ट्र्याक्टर एशोसिएसन, नेपाल विद्युतीय वस्तु उत्पादक संघ जस्ता सरोकारवाला संस्थाको सहयोगी संस्थाको रुपमा सहभागिता रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast