सोमबार, असोज ६, २०७६
    बिदेश

    ‘सुरक्षित पुनर्निर्माण’ नाराका साथ ‘निक इलेक्ट्रो टेक २०१६’ आयोजनाको भव्य तयारी

    बिहिवार, २५ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः आउँदो मङ्सिर ३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा ‘‘निक इलेक्ट्रो टेक २०१६” आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुन लागेको यस प्रदर्शनी शीर्ष प्रायोजन नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)ले गर्नेछ । 

    विद्युत तथा विद्युतीय व्यवसायको विकास, यस क्षेत्रसँग सम्वन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि आयोजना गर्न लागिएको यो प्रदर्शनी आठौं संस्करण हो । पाँच दिनसम्म चल्ने यस प्रदर्शनीले देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रको विकासमा सहयोगी भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ । 

    महासंघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघ तथा निकका पदाधिकारीले यस प्रदर्शनीले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उपभोक्तामाझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्ने बताए । गत वर्षको प्राकृतिक प्रकोपपछि मुलुक अब पुनर्निमाणतर्फ अग्रसर भइरहेको अवस्थामा सम्पूर्ण विद्युतीय व्यवसायीको तर्फबाट सुरक्षित एवं गुणस्तरीय विद्युतीय सामग्रीहरूको प्रयोग होस् भनी सम्बन्धित सबै निकायलाई सचेत गराउन यस वर्ष “सुरक्षित पुनर्निर्माण” भन्ने नाराका साथ प्रदर्शनीको आयोजना हुन लागेको हो । 
     
    राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा विद्युतीय व्यवसायी एवं उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई यस व्यवसायको सामुहिक प्रबद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीबारे सुचना आदान–प्रदान गर्ने तथा उपभोक्तालाई यस सम्बन्धीबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य आठौं संस्करणको रहेको छ ।

    प्रदर्शनीमा उर्जा उत्पादन, यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रबिधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । 

    प्रदर्शनीमा उत्पादनहरूबारे जानकारी दिनुका साथै बिक्री वितरणको समेत व्यवस्था मिलाइने जनाइएको छ । इलेक्ट्रो टेकको यस संस्करणलाई भव्यता प्रदान गर्न तथा प्रदर्शनीप्रति ऐक्यवद्धता जनाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्स, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था –इपपान), नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल लघु जलविद्युत विकास संघ, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स, नेपाल इलेक्ट्रिकल कन्ट्र्याक्टर एशोसिएसन, नेपाल विद्युतीय वस्तु उत्पादक संघ जस्ता सरोकारवाला संस्थाको सहयोगी संस्थाको रुपमा सहभागिता रहेको छ ।

    कुल ११४ स्टलहरु रहने यस निक इलेक्ट्रो टेकमा सत प्रतिशत स्टलहरु बुकिङ भइसकेको प्रदर्शनीका संयोजक तेजनारायण खरेलले जानकारी दिए । प्रदर्शनीमा निक, स्नाइडर, लेग्रो, एचपिएल, सि एण्ड एस, फिलिप्स, हेभल्स, सिमेन्स, एल एण्ड टी, क्रम्टन, उषा, इलेक्ट्रा इलेक्ट्रिक, ओरियन्ट, सिजी, हिमस्टार, राठी लगाएतका सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहनेछ । 

    प्रदर्शनीलाई सहभागिमूलक एवं सुचनामुलक बनाउनका लागि प्रत्येक दिन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन हुने छन् । यसमा देशभित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, प्राविधिक, सरकारी अधिकारी र सर्वसाधारण गरी एक लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान रहेको खरेलले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast