प्रविधि

महिनामा २० युनिट बिजुली प्रयोग गर्ने ग्राहकले अब ३० रुपैयाँ मात्रै शुल्क तिरे पुग्ने

महिनामा २० युनिट बिजुली प्रयोग गर्ने ग्राहकले अब ३० रुपैयाँ मात्रै शुल्क तिरे पुग्ने

काठमाडाैं: महिनामा २० युनिटसम्म मात्रै बिजुली प्रयोग गर्ने साना ग्राहकले अब ३० रुपैयाँ मात्रै शुल्क तिरे हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले करिब २५ लाख साना ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नयाँ महशुल दर निर्धारण गरेको हो।

प्राधिकरणले बुधबारदेखि निर्धारण गरेको नयाँ महशुल दर अनुसार २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले अब बिजुलीको शुल्क तिर्नुपर्ने छैन। उनीहरुले मासिक ३० रुपैयाँ इनर्जी शुल्क मात्रै तिरे पुग्ने प्राधिकरणले जनाएको छ। 

निर्यातबाहेक अन्य उपभोक्ताका हकमा औसत १.०४ प्रतिशतले घट्ने गरी विद्युत् नियमन आयोगले नयाँ महसुल दर निर्धारण गरेको हो। उत्पादित विजुलीको उपभोग बढाउन प्राधिकरणले महसुलदर औसत २ दशमलव ८४ प्रतिशतले घटाएको छ।

कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ। यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ।

प्राधिकरणका अनुसार सिङ्गल फेजबाट मासिक एक सय ५१ देखि दुई सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताले अब इनर्जी शुल्क प्रति–युनिट साढे नौ रुपैयाँ तिरे पुग्नेछ भने महिनाको चार सय युनिटभन्दा माथि बिजुली खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रति–युनिट ११ रुपैयाँमात्रै तिरे पुग्नेछ।

नयाँ महसुलअनुसार सरकारी अस्पताल र स्वास्थ्य चौकीले समयमै महसुल तिरेमा २० प्रतिशत छुट पाउनेछन्। 

प्राधिकरणका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका  उपभोक्तालाई मासिक न्यूनतम शुल्क साबिक महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रतियुनिट १००, १२५ र १५० कायम गरिएको छ।

यस्तै सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका उपभोक्तालाई मासिक न्युनतम शुल्क साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशः प्रतियुनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ।

घटाइएको दरबाट २५ लाख नेपाली लाभान्वित हुने प्राधिकरणले जनाएको छ। 

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउँदा नै अर्थमन्त्री जनार्दन शर्माले बजेटमै २० युनिटसम्म उपभोग गर्ने उपभोक्ताबाट शुल्क नलिने घोषणा गरेका थिए।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८