राजनीति

दसैँ मनाएर बिदा हुँदै यी तीन मुख्यमन्त्री

दसैँ मनाएर बिदा हुँदै यी तीन मुख्यमन्त्री

काठमाडौं । प्रदेश सरकारका तीन मुख्यमन्त्री बडादसैँपछि बिदा हुँदै छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमले उनीहरू पदमुक्त हुन लागेको देखिएको हो । प्रदेश नम्बर–१ र वागमती प्रदेशका मुख्यमन्त्रीहरू राजनीतिक परिवर्तनको परिणामस्वरूप अल्पमतमा परेर बिदा हुँदै छन् भने कर्णाली प्रदेश सरकार आफ्नै प्रतिबद्धताअनुरूप सत्ता हस्तान्तरण गरेर बिदा लिने तयारीमा छ ।

गएको भदौ २ गते माधवकुमार नेपालको साथ छोडेबापत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट मुख्यमन्त्री ‘उपहार’ पाएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वैधानिक अभ्यास गरेको भए असोज २ गतेभित्रै विश्वासको मत लिनुपर्थ्यो । तर, उनले एमाले अध्यक्षले झैँ सत्ता आफ्नै अनुकूलमा प्रयोग गर्ने अभ्यास गरिन् । परिणामस्वरूप उनी अल्पमतमै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहाल छिन् । अल्पमतमा रहेको र उनको पक्षमा माहोल बन्ने सम्भावना पनि नदेखिएकोले उनको बर्हिगमन निश्चित मानिएको छ ।

एमालेमा माधव नेपाल समूहमै रहेका सचिव भीम आचार्य पनि छुट्टै पार्टी बन्दा एमालेमै रहने निर्णय गरे । उनको निर्णयको राज आठ दिनपछि खुल्यो । ओलीले उनलाई प्रदेश–१ को मुख्यमन्त्री बनाउने भएपछि बहालवाला मुख्यमन्त्री शेरधन राईले राजीनामा दिए । गएको भदौ १० गते आचार्यले मुख्यमन्त्रीको शपथ लिए । संविधानानुसार उनले पनि असोज १० भित्रै प्रदेशसभामा आफ्नो बहुमत छ भन्ने सिद्ध गर्न विश्वासको मत लिनुपर्ने थियो । तर, आफ्नो पक्ष अल्पमतमा छ भन्ने जान्दाजान्दै मुख्यमन्त्रीको नियुक्ति लिएका आचार्यले पनि विश्वासको मत लिएका छैनन् । आचार्यले ओली नेतृत्वको तत्कालीन आफ्नै सरकारका विषयमा गरेका टिप्पणी र नैतिकताका प्रश्न अहिले उनीतिरै फर्किएका छन् ।

उता, कर्णाली प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएर सरकार ढाल्ने तयारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसको सहयोगमा विश्वासको मत कायम राखेका छन् । उनले त्यति बेला नै कात्तिकपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ‘भद्र सहमति’ गरेका कारण अहिलेसम्म उनको सरकार बहुमतमा छ । उनी आफैँले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता सार्वजनिक गरेकाले आउँदो कात्तिकको पहिलो सातापछि उनी मुख्यमन्त्री पदमा रहने छैनन् ।

 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८