खेल

कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको जित

कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको जित

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो ।

यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ २३ रनमा आउट भए । यस्तै रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

एकदिवसीय अन्तराष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बने । विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले ।

यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे । संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो । जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल भोलि मंगलबार हुनेछ । लिग-२ विश्वकप छनोटको एक रुप हो । लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८