अन्तर्राष्ट्रिय

काेराेना संक्रमणकाे तेस्रो लहरकाे तयारीमा जुट्याे भारत

काेराेना संक्रमणकाे तेस्रो लहरकाे तयारीमा जुट्याे भारत

दिल्ली: गत अप्रिल र मे महिनामा दोस्रो लहरको संक्रमणबाट गुज्रँदा भारतका अधिकांश अस्पतालहरुमा अक्सिजनको चरम अभावले भयावह स्थिति सिर्जना भएको थियो । अहिले तिनै अस्पतालहरुमा कोभिडका बिरामीको सङ्ख्या उल्लेखनीय रुपमा घटेको छ । 

तर पनि स्वास्थ्यविद्हरु ढुक्क हुने अवस्थामा नरहेको बताउँछन् । केही महिना अगाडि गंगा नदीमा कोभिडले मृत्यु भएकाको शव हप्तौँ निरन्तर जलिरहँदाको पीडादायक अनुभव उनीहरुले भुलेका छैनन् । विशेषगरी अस्पतालहरुले दोस्रो लहरबाट ठूलो पाठ सिकेका छन् ।
 
यस्तोमा सेप्टेम्बरदेखि नोभेम्बरका बीच पर्ने विभिन्न ठूला पर्वले तेस्रो लहर फैलाउने सम्भावना अधिक रहेको विज्ञहरुको भनाइ छ । त्यसैले तयारी स्वरुप भारतभर अस्पतालहरुले विभिन्न सेवा सुविधा बढाइरहेका छन् भने अक्सिजनको आपूर्ति पर्याप्त रहेको पनि सुनिश्चित गर्न थालिएको छ ।
 
नयाँ दिल्लीको गंगाराम अस्पतालले मात्र अक्सिजन स्टोरेजको क्षमता ५० प्रतिशतले वृद्धि गराएको छ भने कोभिडको आईसीयूका लागि भनेर ग्यास लैजान एक किलोमिटर लामो सिधा पाइप पनि स्थापित गराएको छ । यसले अक्सिजनको बहाव उच्च राख्ने अपेक्षा छ । यति मात्र नभएर साइटमै अक्सिजन उत्पादन गराउने प्लान्टसमेत मगाइएको छ । युरोपमा निर्मित सो प्लान्ट आइपुग्न केही महिना लाग्न सक्छ जसको माग पछिल्लो समय विश्वभर बढेको छ ।
 
अस्पतालका मेडिकल डिरेक्टर सतेन्द्र कतोज भन्छन्, “कोरोना भाइरसका अझ बढी संक्रमक र हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताबाट उम्किन सक्ने स्वरुप उत्पन्न हुन सक्छन् । त्यसैले पनि हामीले त्यस किसिमको संकटका लागि तयारी गरिरहनु परेको छ ।”

राष्ट्रिय स्तरमै भारतले पछिल्ला केही महिनामा अत्याधिक धेरै मात्रामा ‘हस्पिटल बेड’ र अक्सिजन निर्यात गराएको छ । विभिन्न ठूला कम्पनीहरुले देशको अक्सिजन उत्पादनमा दैनिक १५ हजार टनसम्मले वृद्धि ल्याइरहेका छन् । दोस्रो लहरको समयमा अक्सिजनको उत्पादन, निर्माण संरचना र वितरणमा धेरै समस्या देखा परेको थियो । 

त्यसैगरी लगभग सबै प्रदेशहरुले बालबालिकाका लागि विशेष ‘पेडिआट्रिक’ वार्ड पनि तयार पारिसकेका छन् । खोप नलगाएको हुनाले भाइरसको नयाँ स्वरुप प्रति बालबालिकाहरु अधिक संवेदनशील हुने खतरा रहेको विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

त्यस्तै मध्य प्रदेशसहित विभिन्न क्षेत्रमा कोभिडका एन्टि–भाइरल औषधि जस्तै रेम्डेसिभिर स्टक गरिराख्ने काम पनि भइरहेको छ ।
 
भारत सरकारको सर्वेक्षणले चाहिँ दुई तिहाइ जनतामा प्राकृतिक संक्रमणमार्फत कोभिडसँग लड्ने एन्टिबडिज भएको र बाँकी ५७ प्रतिशत वयश्कहरुले कम्तीमा एउटा डोज खोप लगाएको हुँदा संक्रमण फेरि फैलिएमा अवस्था दोस्रो लहरभन्दा कम भयानक हुने देखाएको छ । 
 
‘पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डिया’का निर्देशक, के.श्रीनाथ रेड्डी भन्छन्, “अहिले संक्रमित हुन सक्ने जोखिममा एकदम कम मानिस छन् । किनकी धेरै मानिसहरु या त संक्रमित भइसकेका छन् या खोप लगाइसकेका छन् । त्यसैले भाइरस पुनः फैलिएमा यसको असर सामान्य मात्र पर्न सक्छ र घरमै बसेर पनि ठिक हुन सकिनेछ ।”

केरेलामा अहिले नै संक्रमितहरुको सङ्ख्या बढिरहेको अवस्था छ । तर प्रायःले खोपको कम्तीमा एउटा डोज लगाइसकेको हुँदा यसले पुर्याइरहेको क्षति न्यून रहेको छ । रोयटर्स



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८