अन्तर्राष्ट्रिय

चीनमा भेटियाे अर्को खतरनाक भाइरस, कोरोनाभन्दा धेरै मृत्यु हुने अनुमान

चीनमा भेटियाे अर्को खतरनाक भाइरस, कोरोनाभन्दा धेरै मृत्यु हुने अनुमान

एजेन्सी: चीनमा फेरि अर्काे खतरनाक भाइरस फेला परेको छ ।  चीनको राजधानी बेइजिङमा ‘मङ्की बी’ भाइरस फेला परेको हो । उक्त भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

नयाँ भाइरसका संक्रमितको मृत्यु दर कोरोनाभाइरसको तुलनामा निकै बढी रहने विज्ञहरुको भनाइ छ ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले उक्त भाइरसबाट पहिलो मृत्युको पुष्टि गरेको हो । उक्त अखबारका अनुसार बेइजिङमा जनावरको एक चिकित्सकमा उक्त भाइरसको संक्रमण पुष्टि भएको हो । तर ती व्यक्तिको सम्पर्कमा आएका मानिसहरु भने अहिलेसम्म पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ ।

५३ वर्षका ती पशु चिकित्सक एक संस्थामा ‘नन् ह्यूमन प्राइमेट्स’ बारे अनुसन्धान गर्दै थिए । उनले गत मार्च महिनामा दुई मृत बाँदरमाथि अनुसन्धान गरेका थिए । त्यसको एक महिनापछि उनमा बान्ता हुने प्रारम्भिक लक्षण देखिएको थियो ।

गत शनिबार ‘चाइना सीडीसी’ पत्रिकाले यसबारे विस्तृत जानकारी प्रकाशित गरेको छ । सो पत्रिकाका अनुसार विभिन्न अस्पतालमा ती पशु चिकित्सकको उपचार गरिए पनि २७ मेमा उनको निधन भएको हो । सो पत्रिकाका अनुसार यसअघि उक्त भाइरससँग सम्बन्धित कुनै मामिला प्रकाशमा आएको थिएन । ‘मङ्की बी’ भाइरसबाट मानव संक्रमित भएको र मृत्यु भएको यो पहिलो घटना हो ।

शोधकर्ताहरुले गत अप्रिलमा ती पशु चिकित्सकको ‘बोन म्यारो’ को नमूना परीक्षण गरेका थिए, जसबाट उनमा मङ्की बी भाइरसको पुष्टि भएको बताइएको छ । यो भाइरसको पहिचान सन् १९३२ मै भएको थियो । यो भाइरस प्रत्यक्ष सम्पर्क वा शारीरिक स्रावको आदान प्रदानबाट मानिसमा सर्न सक्छ । यो भाइरसबाट संक्रमित बिरामीको मृत्यु दर ७० देखि ८० प्रतिशत रहेको विज्ञहरुको भनाइ छ ।