समाज

काठमाडाैं उपत्यकामा फेरि एक साता निशेधाज्ञा थपिने, बस्दै सिडिओ बैठक

काठमाडाैं उपत्यकामा फेरि एक साता निशेधाज्ञा थपिने,  बस्दै सिडिओ बैठक

काठमाडौं: काठमाडाैं उपत्यकामा पुन: एक साता निषेधाज्ञा थपिने भएकाे छ । निशेधाज्ञा एक साता लम्ब्याउन काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेकाे हाे ।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनले भने, ‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।

उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।

 

निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताए। स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।