स्वास्थ्य

सावधान ! तपाईँका बालबालिकामा यी लक्षण त देखिएको छैन ?

सावधान ! तपाईँका बालबालिकामा यी लक्षण त देखिएको छैन ?

काठमाडौं: पछिल्लाे समय चिकित्सकहरुले  कोरोना संक्रमण निकाेभएका बालबालिकामा ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ देखिने सम्भावना बढेकाे बताएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण भएर निको भएका बालबालिकामा ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ देखिने सम्भावना हुने भएकाले यसबारे सचेत पनि आग्रह गरेको छ । 

कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ हो । यो समस्या सामान्यतया कोरोना संक्रमित भएको ३ देखि ४ हप्तापछि देखा पर्ने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

ज्वरो आउनु, आँखा रातो हुनु, पखाला लाग्नु, सास फेर्न गाह्रो हुनु, छाला, ओठ वा नङ निलो हुनु, घाँटी दुख्नु यसका लक्षण हुन् । यसैगरी शरीरमा डाबर आउनु, पेट दुख्नु, थकान महसुस हुनु ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’का लक्षण हुन् । 

कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्ये कम्तीमा अन्य कुनै दुईओटा लक्षण देखा परेमा तुरून्त अस्पताल लैजान मन्त्रालयले आग्रह गरेको छ ।

यो समस्या के कारणले देखिन्छ भनेर हालसम्म यकिन भइनसकेको तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेकाले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।