शिक्षा

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षा मन्त्रीकाे निर्देशन

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षा मन्त्रीकाे निर्देशन

काठमाडाैं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको पाइएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र  वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

अधिकांश पुस्तक प्रकाशक र विक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाइएको छ ।