मनोरञ्जन

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए मदनकृष्ण श्रेष्ठ

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए मदनकृष्ण श्रेष्ठ

काठमाडौं: हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । शुक्रबार राति १ बजे अचानक मुटु दुख्न थालेपछि उनलाई गएको गंगालाल अस्पताल लगिएको थियो ।

अस्पतालमा तीन दिन उपचारपछि उनी बुधबार दिउँसो करिब १ बजे घर फर्किएका हुन् । छोरी सरानाका अनुसार चिकित्सकले आराम गर्न सुझाव दिएका छन् । हाल उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र अझै केही समय पूर्ण आराम गर्न डाक्टरकाे सुझाव रहेकाे छोरी सरानाले बताइन् ।

उनले भनिन्, 'धेरै तलमाथि नगर्न, धेरै नबोल्न, भ्वाइस रेस्टमा बस्न भन्नुभएको छ । अब पहिलेजस्तै बलियो हुन पूर्ण आरामको आवश्यकता छ ।'

मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएर उनलाई अचानक अत्यधिक मुटु दुखेको थियो । शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।

यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो ।