प्रविधि

फेसबुकका उपाध्यक्ष बार्राले दिए राजीनामा

फेसबुकका उपाध्यक्ष बार्राले दिए राजीनामा

एजेन्सी:  फेसबुकका उपाध्यक्ष ह्युगो बार्राले राजीनामा दिएका छन् ।  फेसबुकको अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी इकाइ हेर्ने उपाध्यक्ष ह्युगो बार्राले फेसबुक कम्पनी छाड्न लागेको घोषणा गरेका हुन् ।

सोसल मिडिया प्लाटफर्म फेसबुकले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी (एआर तथा भिआर) को क्षेत्रमा समेत आफ्नो उपस्थिति मजबुत बनाउँदैछ । यही वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी फेसबुकले काम गरिरहेको छ । तर स्मार्ट चश्मा सार्वजनिक हुनु अगावै फेसबुकको सोही विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिए।

कुनै समय चिनिया स्मार्टफोन कम्पनी शाओमीको भारतस्थित शाखाको जिम्मेवारी सम्हालेका बार्राले गुगल कम्पनीको एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्ट इकाइमा उपाध्यक्षको रुपमा काम गरेका थिए । चार वर्ष अघि उनले शाओमी छाडेर फेसबुकमा जागिर सुरु गरेका थिए । आगामी दिनमा स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्नका लागि फेसबुक छाड्न लागेको उनले बताएका छन् ।

फेसबुक छाडेपछि कहाँ जाने भन्ने बारेमा चाहिँ बार्राले केही खुलाएका छैनन् ।

उनी भन्छन्- विश्व नै महामारीबाट गुज्रिरहँदा गत वर्ष भएका घटनाक्रमहरुका बारेमा मैले धेरै सोँचविचार गरेँ । मलाई लाग्छ हाम्रो स्वास्थ्यको बारेमा बुझ्न तथा हाम्रो स्वास्थ्यमाथि नियन्त्रण कायम गर्नका लागि हामीलाई आवश्यक पर्ने साधनहरु पर्याप्त छैनन् ।

यो तथ्यबाट प्रेरित हुँदै प्रविधिको क्षेत्रमा २० वर्षसम्म काम गरेको अनुभव समेतका आधारमा मैले पूर्णरुपमा फरक कुरा प्रयास गर्ने निर्णय गरेको छु । मेरो लागि अज्ञात क्षेत्रमा हाम फाल्दै स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्न चाहन्छु ।