अन्तर्राष्ट्रिय

चिडियाखानाका आठ सिंहमा कोरोना संक्रमण

चिडियाखानाका आठ सिंहमा कोरोना संक्रमण

दिल्ली : भारतको एउटा चिडियाखानामा राखिएको आठ सिंहमा कोरोनाभाइरस संक्रमण भएको पाइएको छ । तेलंगना राज्यस्थित नेहरु जुलजिकल पार्क (एनजेडपी)मा राखिएको आठ सिंहमा कोरोना संक्रमण पुष्टि भएको सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजी (सीसीएमबी)लाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

गत वर्ष अप्रिलमा अमेरिकाको एउटा चिडियाखानामा आठ बाघ र सिंहमा कोरोना पुष्टिपश्चात विश्वमा सिंहमा कोरोना देखिएको यो दोस्रो घटना हो । यद्यपि, हङकङमा कुकुर र बिरालोमा भने संक्रमण पुष्टि भएको थियो ।

स्रोतका अनुसार अप्रिल २४ मा एनजेडपीका पशु चिकित्सकले चार भाले र चार पोथी सिंहमा खाना नखाने, नाकबाट पानी बग्नेलगायत कोभिड–१९ को लक्षणहरु भेटेका थिए । यो चिडियाघर जनसंख्याको ठूलो चाप भएको सहरी क्षेत्रमा भएकाले अवलोकनकर्ता वा कर्मचारीबाट सिंहमा भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।

केही दिनअघि यहाँका २५ कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुई दिनअघि मात्र चिडियाखाना बन्द गरिएको जनाइएको छ ।