अन्तर्राष्ट्रिय

मञ्चमै उपाधि खोसाखोस, 'मिसेस् श्रीलङ्का' घाइते

मञ्चमै उपाधि खोसाखोस, 'मिसेस् श्रीलङ्का' घाइते

एजेन्सी: आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा पुष्पिका डिसिल्भाले "मिसेस् श्रीलङ्का"को उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिन नहुने ती पूर्वविजेताको भनाइ थियो। तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए। तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्।"पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु," उनले दर्शकहरूलाई भनिन्।मिसेस् श्रीलङ्का

त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ।आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्।

फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्।आफूमाथि भएको "अनुचित र अपमानजनक" व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्।

"श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्," उनले एउटा पत्रकार सम्मेलनमा भनिन्।"यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्।"

प्रहरीले जुरीसँग सोधपुछ गरिरहेको छ। मिसेस श्रीलङ्का उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो।