प्रविधि

नेपाली आकाशमा पनि अब इन्टरनेट सुविधा

नेपाली आकाशमा पनि अब इन्टरनेट सुविधा

काठमाडाैं: अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा उपलब्ध हुने भएकाे छ ।  विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका हुन् । दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।

गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन्। 

प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसगैँ नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त एयरलाइन्सले उक्त सुविधा पाउने उनकाे भनाइ छ । आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ । दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।