सम्पादकीय

कोरोनाको दोस्रो लहरसँग जुध्ने तयारी खै ?

कोरोनाको दोस्रो लहरसँग जुध्ने तयारी खै ?

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि केहि राज्यहरुमा लकडाउन नै गरिएको छ । भारतमा संक्रमण बढ्न थालेपछि नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर त्रास बढेको छ ।

पछिल्लो समय नेपालमा भिडभाड र मानिसको चहलपहल बढ्न थालेको छ । जसले आम मानिसमा कोरोनको त्रास हराएको आभाष गराएको छ । केही समय अघिसम्म एक्लै हुँदा पनि अनिवार्य मास्क लगाउनेहरू अहिले भीडभाडमा पनि खुलेआम हिँडिरहेका छन । सार्वजनिक यातायात, सभा, जुलुसहरूमा पनि बिनामास्कका मानिस थुप्रै भेटिन्छन । यहि समयमा संक्रमणको दोस्रो लहर सुरु भए भयावह बन्नसक्ने चिन्ता विज्ञहरूको छ।

कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै फेरि लकडाउन गर्ने चर्चाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कफ्र्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरातलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि मानिसको चहलपहलमा कडाई गरिएको छ।

मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः बढदै गएको छ। विगतको तुलनामा संक्रमितको संख्या कम भएपनि कोरोनाको उच्च जोखिम रहेको छ। भारतमा संक्रमण दर बढ्नु नेपालका लागि निकै चुनौती हो । खुला सीमाका कारण हुने ओहोर दोहोरले भारतका हर कुराले नेपालमा सहज पहुँच पाउनु सामान्य हो । कोरोना संक्रमणमा पनि खुला सीमा निकै चुनौतीको रुपमा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भौतिक दूरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई सजग गराइएको छ । साथै, सरकारले तत्काल बन्दाबन्दी लकडाउनु नगर्ने आश्वासन पनि दिएको छ । नेपाल सरकार जनस्वास्थ्यप्रति खासै गम्भीर हुने गरेको उदाहरण बिरलै पाइन्छ । अहिले पनि सरकारले विज्ञप्ति जारी गरेर जनतालाई सावधान गराएपछि आफ्नो दायित्व पूरा भएको ठानेको हुनसक्छ ।

कोरोना भाइरसविरूद्वको खोप शुरु भएपछि केहि मात्रामा भएपनि आशाको किरण छाएको थियो । तर, खोप सर्वसुलभ नहुने लक्षण देखिन थालेको छ । एकातिर, धनी मुलुकहरूले आवश्यकभन्दा बढी ओगटेर गरिब मुलुकले नपाउने अवस्था उत्पन्न भएको छ भने अर्कातिर ‘खोप राष्ट्रवाद’ निकै चर्कोरूपमा प्रकट भएको छ । नेपालमा पनि भारतको अनुदानबाट प्राप्त खोपले जगाएको आशामा अहिले अनिश्चयको तुवाँलो लागेको छ । पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका अर्को मात्रा बेलैमा पाउनेमा ढुक्क हुन सकिएको छैन । सरकारले अनुदानमा पाएको खोप ल्याउन देखाएको अनुदारपन र खोपको प्रभावकारिता माथि प्रधानमन्त्रीको संसय यसका उदाहरण हुन ।

आक्रामक रुपमा भारतमा कोरोनाको दोस्रो लहर फैलनुले नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर फर्किने संकेत मिलिसकेको छ । यसैले जनस्तरबाटै सावधानी अपनाएर महाव्याधिको प्रकोप साम्य बनाउनु आवश्यक छ । सम्भावित जोखिमको न्यूनीकरणका लागि नेपालमा तत्काल चालिनुपर्ने कदमबारे भने अझै राम्ररी पहल भएको देखिन्न । चीन, इरान, इटाली, दक्षिण कोरियाजस्ता मुलुकमा झैँ कोरोना संक्रमणले महामारीको रूप लियो भने नेपालको कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण यसको नियन्त्रण नेपाललाई अत्यन्त कठिन हुने पक्का छ । खोपको दोस्रो मात्रा समयैमा उपलब्ध गराउन सरकार पनि गम्भीर बनोस् । गत वर्ष सरकारको हेलचेक्य्राइँ र कोरोना खरीद उपकरणमा भएको भ्रस्टाचार र सर्वसाधारण स्वयम पनि असावधान भएका कारण आम सर्वसाधारणले धेरै दुख सहनु पर्‍यो । अझै पनि यस्तै क्षति व्यहोर्न परे राज्य र समाज दुवैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८