राजनीति

आज गृह जिल्ला झापा जाँदै प्रधानमन्त्री ओली 

आज गृह जिल्ला झापा जाँदै प्रधानमन्त्री ओली 

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) गृह जिल्ला झापा जाँदैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा जान लागेका हुन् । 

जानकारी अनुसार प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास गर्नेछन् । औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ । 

नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कको शिलान्यास गर्न जान लागेका ओलीको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट र कार्यक्रम स्थलमा विद्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिएको गरिएको बताइएको छ । त्यस्तै, कार्यक्रमलाई भव्य बनाउन विभिन्न जातजातिका झाँकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।

एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुने बताइएको छ । औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ । 

त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका–१ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै‚ दमक–१० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।