समाज

जग्गाको मुद्दामा साक्षी बसेका दम्पती घरबाटै बेपत्ता, सुतेको ठाउँमा रगतको छिटा

जग्गाको मुद्दामा साक्षी बसेका दम्पती घरबाटै बेपत्ता, सुतेको ठाउँमा रगतको छिटा

महोत्तरी: मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका एक दम्पती घरबाटै  बेपत्ता भएका छन् । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा साेमबार रातिबाटै बेपत्ता भएका हुन् । 

उनीहरुलाई सोमबार राति घरबाटै अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।  उनीहरु सोमबार राति आफ्नो घरमा सुतेकै ठाउँबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । 

आज बिहान अबेरसम्म झा दम्पति नउठेपछि हेर्न जाँदा दुवै ओछ्यानमा नभेटिएपछि र त्यहाँ रगत पनि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। झा दम्पती बेपत्ता भएको ठाउँमा रगतको छिट्टा समेत देखिएकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

दुवै जनाको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएकाे छ ।