मनोरञ्जन

सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी

सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी

मुम्बई: दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी शुरु गरिएकाे छ । भारत सरकारले सुशान्तकाे  नाममा राष्ट्रिय अवार्ड स्थापना गर्न लागेकाे हाे । 

अभिनयको माध्यमबाट छोटो समयमा नै बलिउडमा लोकप्रिय बनेका यी अभिनेताको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो । भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।

‘हो, उनीहरु सुशान्तको नाममा एउटा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी गरिरहेका छन् । भाजपाले सरकारसमक्ष यो प्रस्ताव राखेको छ’, स्रोतले भनेको छ, ‘तर हामीलाई थाहा छ कि हाम्रो प्रशासनिक संयन्त्र र राजनीति निकै ढिलो छ । त्यसकारण यो अवधारणालाई अगाडि बढाउन केही समय लाग्नेछ । तर योजना पुरा हुनेमा आशावादी छौं ।’

अभिनेता सुशान्तको निधनको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै बलिउडमा केही पक्षले आलोचना गर्न थालिसकेका छन् । उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।

सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो । उनको शव उनकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।