सम्पादकीय

झाँक्री पक्राउले निम्त्याएको अस्थिरताको यात्रा

झाँक्री पक्राउले निम्त्याएको अस्थिरताको यात्रा

राज्यद्रोहको कसुर गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी ’नेकपा’ को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री बिहीबार पक्राउ परिन् । गोरखमा पुगेर करिव दुई साता अघि दिएको एक अभिव्यक्तिका कारण प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको हो ।  जसको अहिले चौतर्फि आलोचना भइरहेको छ ।

पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यसको विरोधमा नेकपाको एक घटक निरन्तर आन्दोलनमा छ । आफ्नाविरुद्ध हुने विरोधलाई भरसक सुन्न नपरोस भन्ने चाह राख्ने प्रधानमन्त्रीले रामकुमारी झाक्रीलाई ठाडो निर्देशनमा पक्राउ गर्न लगाएको नेकपा अध्यक्ष दाहालले तर्क गरेका छन् । यस्तोमा आफुविरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप प्रधानमन्त्री माथि लागेको छ । सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने विचारहरु अभिव्यक्ति हुन थालेका छन् ।

झाँक्रीलाई पक्राउ गर्न निवास पुगेको प्रहरीले सुरुमा पक्राउ पूर्जीसमेत लगेको थिएन । यसबाट लिखित निवेदनभन्दा पनि गृह मन्त्रालयको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको देखिन्छ । झाँक्रीको अभिव्यक्ति वाक स्वतन्त्रतासँग जोडिने र यस्तोलाई पनि पक्राउ गर्ने हो भने कसैले लेख्न बोल्ने वातावरण नै नहुने विश्लेषकहरु बताउँछन् ।

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।

अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै झाँक्रीलाई पक्राउ गरिएको भन्दै वुद्दिजिवीहरुले गिरफ्तारीले वर्तमान सरकार घोर अलोकतान्त्रिक भएको पुष्टि भएको दाबी गरेका छन् । नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको देखिन्छ । झाक्रीलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख गरिएको छ । दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ । मुलुकी अपराधसंहिता २०७४ को ५८ दफा (१) ले भन्छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन।’

झाँक्रीले माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्ष गरेकी थिइन् । त्यही विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । यही विषयलाई लिएर अखिल नेपाल महिला संघले राष्ट्रपतिको चिरित्र हत्या गरेको भन्दै पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई माघ २१ गते ज्ञापनपत्र बुझाएको थियो ।

झाँक्रीले सो कार्यक्रमा राष्ट्रपतिलाई चुनाव लड्ने भए शितल निवास छोडेर बालकोट जान भनेकी थिइन् । कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी ।’

झाक्रीको यो अभिव्यक्ति र महिला संघको आग्रह पछि पनि प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न खासै चासो देखाएको थिएन । यो राजनीतिक मुद्दा भएको भन्दै प्रहरी तर्किँदै आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले  बारम्बार प्रहरीलाई दबाब दिएपछि प्रहरी झाँक्रीलाई पक्राउ गर्न बाध्य भएको तर्क हुँदै आएको छ । नेतृ झाँक्रीमाथि लागेको आरोप पुष्टि भएको खण्डमा उनलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

झाँक्रीको पक्राउको विषयलाई लिएर आन्दोलनरत् नेकपा पक्षले मात्र होइन प्रतिपक्ष नेपाली काँग्रेस लगायत अन्य दलहरूले समेत आपत्ति जनाइसकेका छन् । उनीहरूले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

झाँक्री पक्राउले राजनीतिक वृत दुई चिरामा स्पष्ट विभक्त पारेको छ । पक्राउ पछि राजनैतिककर्मीको अभिव्यक्तिले प्रतिनिधिसभा विघटनले तताएको परिस्थिती अझै जटिल हुने देखाएको छ ।