स्वास्थ्य

प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलाे खोप कानूनमन्त्री यादवले लिए

प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलाे खोप कानूनमन्त्री यादवले लिए

जनकपुर:  बुधबादेखि प्रदेश २ मा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ। अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो कोरोना खोप लिँदै खोप कार्यक्रमको उद्घाटन गरेका हुन्। खोप लगाएका मन्त्री यादव कोरोना पोजेटिभसमेत भएका थिए ।

यससँगै प्रदेश २ को आठवटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो। अभियानको उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्यकर्मीको सल्लाह अनुसार नडराई ढुक्क भएर खोप लिन सबैसँग आग्रह गरेका छन्।

खोपको कुनै साइड इफेक्ट नभएका बताउँदै उनले कोरोना अन्त्यको एकमात्र विकल्प कोरोना खोपन नै रहेको बताए।

प्रदेश २ कोरोनाको सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला प्रदेशका मान्छेलाई हेरेर अन्य प्रदेशका मान्छे तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताए ।

‘तर म धन्यवाद दिन चाहन्छु स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई,’ उनले भने, ‘आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमणलाई रोकथाम गर्न उनीहरुको उदाहरणीय सहभागिता थियो ।’

एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरसको संक्रमणलाई रोक्न सफल भएको उनको भनाइ छ ।