राजनीति

अझैपनि पार्टी एकताकै पक्षमा लड्ने छु : वामदेव

अझैपनि पार्टी एकताकै पक्षमा लड्ने छु : वामदेव

काठमाडौं : नेकपाका नेता वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। प्रतिनिधि सघा विघटन भएपछि विभाजन भएको नेकपामा तटस्थ बसेका गौतमले आज औपचारिक रुपमै पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन् । ललितपुरको सिद्धार्थ कटेजमा बिहान ११ बजे घोषणा हुने कार्यक्रममा नेकपाका दुवै अध्यक्षलाई बोलाइएको थियाे ।

केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको लडाईंमा गौतम दिउँसो एउटा मोर्चामा हुन्थे भने साँझ फर्लक्क पल्टिन्थे । त्यसैले उनीकै कारण पार्टीले एउटा सोझो बाटो लिन सकेन । साँझ भैंसेपाटी गठबन्धन बनाउने गौतम बालुवाटार पुगेपछि भने कित्ता फेर्न तयार देखिन्थे । त्यसैको प्रभावले गर्दा ओलीले यत्रो प्रतिगमन गर्ने आँट र भरोशा पाएका हुन् ।

प्रतिनिधिसभा विघटन गरिसकेपछि नेकपा दुई फ्याक भयो । तर गौतम भने कतै खुलेका छैनन् । हिजै मात्र उनले जसले अध्यक्ष पद दिन्छ त्यतै जाने भनेको समाचार आयो । यद्यपि साँझ उनको सचिवालयले त्यसको खण्डन गरेकोछ । तर गौतमलाई नजिकबाट चिन्नेहरु भन्छन्–पद बिनाको वामदेव कतै जाँदैनन् । त्यसैले उनले अध्यक्ष पद मागेको हुन सक्छ ।
तर गौतम भने अझैपनि आफू पार्टी एकताकै पक्षमा लड्ने भन्दै अभियान चलाउन अग्रसर भएका छन् । आज उनले आफ्नो अभियानको थालनी गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियान नाम दिइएको उनको अभियान कत्तिको सार्थक होला,त्यो त आउने दिन प्रष्ट होला नै । तर गौतमको स्वभाव र चरित्र हेर्दा यो पनि एउटा फण्डा मात्र हो भन्ने धेरै छन् । आज ललितपुरस्थित सिद्धार्थ कटेजमा गौतमले यो अभियानको थालनी गरेकाछन् । उनले चलाएको उक्त अभियानमा आज केही वाम नेता सहभागी भए । तर जनताले चिनेका नेताहरु भने कोही पुगेनन् ।

विगतमा गौतमसँगै निकट रहेका एक नेताले भने– वामदेवजी कतिबेला कोसँग सम्झौता गर्न तयार हुुनुुहोला अरु सबै रमिते हुनेछन् । कुनैपनि बेला राम्रो अफर आउने वित्तिकै अभियान त्यागेर सम्झौता गर्ने गौतमको स्वभावबाट ती नेता आजित छन् । त्यसैले आफ्नै विवेकले भने अनुसार, प्रचण्ड–माधव समूहमा लागेर क्रान्ति जोगाउने अभियानमा छन् । आजको एकता अभियानमा गौतमका साथ नेकपा केन्द्रीय सदस्य हरि पराजुली,कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन,पूर्व सांसद् माया ज्ञवालीलगायत केही नेता देखिएका छन् ।