समाज

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या : एक जना पक्राउ, एक फरार

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या : एक जना पक्राउ, एक फरार

काठमाडौं, १४ माघ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको छबीस पाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । 

सोही गाउँपालिका–३ स्थित बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार (हिजो) साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको मृत्यु भएको हो ।

खुँडा प्रहार गर्नेमध्ये सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ । हत्यामा संलग्न प्रकाश ऐडी भने फरार रहेका प्रहरीले जनाएको छ ।

उक्त हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरिएको र शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ । फरार व्यक्तिको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।