राजनीति

निर्वाचन आयोगको निर्णयले उत्साहित प्रचण्ड–माधव

निर्वाचन आयोगको निर्णयले उत्साहित प्रचण्ड–माधव

काठमाडौं: नेकपाकाे  प्रचण्ड–माधव समूह नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयप्रति उत्साहित देखिएको छ ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिकता पाउने नेताहरुले बताए ।

प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । सोमबार प्रदेश २ का नेता-कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताए ।

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको बताउँदै नेपालले भने, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’

ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै उनले अघि भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’