स्वास्थ्य

कस्ता व्यक्तिले लगाउन हुँदैन भारतले दिएकाे काेराेना भ्याक्सिन ?

कस्ता व्यक्तिले लगाउन हुँदैन भारतले दिएकाे काेराेना भ्याक्सिन ?

काठमाडाैं: हिजाे बिहीबार मात्र  भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप काठमाडाैं आएकाे छ ।  विभिन्न देशमा कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला नेपालमा पनि यस्तो खोप भित्रिएको हाे।

भारतले नेपाल पठाएको खोप कुन हो ? कस्तो हो? लगाउँदा के होला भन्ने आशंका जनमानसमा छ। किनकि भारतमा खोप लगाएका ५८० जना बिरामी परे भने २ जनाको मृत्युसमेत भयो। नर्बेमा पनि कोरोनाविरुद्ध खोप लगाएका २९ ज्येष्ठ नागरिकको मृत्यु भएको खबर सार्वजनिक भयो।

भारतले दिएको कोरोना खोप कस्ता व्यक्तिले लगाउने वा नलगाउने? याे  कत्तिको सुरक्षित छ ? यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका सुझाव:

–नेपालमा आएको कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ। यो खोपको भारतलगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्रायल गरिएको थियो।

–भारतमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो। भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ। कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन्। नेपालमा आएको यो खोप हैन।

–नेपालमा आएको कोभिसिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ। दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बन्ने बताइएको छ। तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ। जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्दछ।

–यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइड(इफेक्ट देखिएको जनाइएको छ। खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक सकको खतरा हुनसक्छ। यस्तो भएमा आकस्मिक सुईको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन्।

–सामान्य साइड इफेक्टक रूपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने, गिर्खापर्नेलगायत हुनसक्छ, जुन ५ देखि ७ दिनसम्म रहनसक्छ।

–कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डालगायत खाद्य पदार्थको एलर्जी भएका तथा विगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले विशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ।

–गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन। तसर्थ नलगाउनु सुरक्षित हुन्छ।

–दीर्घरोगहरू जस्तै क्यान्सर, मुटु, किड्नी, फोक्सो, मस्तिष्क, ब्लिडिङ डिसअर्डर, प्लेटलेटसम्बन्धी समस्या, स्नायु प्रणाली आदि समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभूति भएपछि वा विशेषज्ञको निगरानीमा केही समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ।