स्वास्थ्य

भारतले दिने कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्दै

भारतले दिने कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्दै

काठमाडौँ, ८ माघ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको १० लाख मात्राको खोप आज काठमाडौं आइपुग्दै छ ।

भारतले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।  

हिजो (बुधबार) मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले छिट्टै खोप आइपुग्ने जानकारी दिए ।

मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका थिए ।

सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताए । 

भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराए । खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्मी, चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने बताइएको छ ।