समाज

उद्योग मन्त्रालयका अधिकृत पक्राउ

उद्योग मन्त्रालयका अधिकृत पक्राउ

काठमाडाैं:  उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासु पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको हाे ।

राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ । प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए ।