शाहरुख खानको घर बाहिर निर्देशकको धर्ना

एजेन्सी: बलिउड अभिनेता शाहरुख खान विगत तीन दशकदेखि फिल्ममा निकै सक्रिय छन् । ५५ वर्ष लागिसक्दा पनि उनको माग घटेको छैन।
पछिल्लो घटना शाहरुखको 'क्रेज'को ताजा उदाहरण बनेको छ। भारतीय संचारमाध्यम पिंकभिल्लाका अनुसार, बेंगलुरुका एक फिल्म निर्देशकले शाहरुखलाई आफ्नो फिल्मको पटकथा सुनाउन उनको घर बाहिर ‘धर्ना’ दिएर बसेका छन्।
निर्देशक जयन्थ सिंजले सन् २०२० डिसेम्बर ३१ गतेदेखि शाहरुखको घर बाहिर धर्ना दिएर बसेका हुन्। जयन्थले सन् २०२१ को आफ्नो नयाँ फिल्म ‘प्रोजेक्ट एक्स’मा शाहरुख खानलाई ल्याउने बताउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
एक्सन(थ्रिलर फिल्म ‘प्रोजेक्ट एक्स’को कथा लेख्न निर्देशक जयन्थ आफूलाई झन्डै दुई वर्ष लागेको बताउँछन्। यसमा शाहरुख खानसँग सहकार्य गर्ने उनको सपना रहेको पिंकभिल्लाले लेखेको छ। निर्देशक जयन्थले ‘प्रोजेक्ट एक्स’को पोस्टर सार्वजनिक गरिसकेका छन् जसलाई बनाउन तीन दिन लागेको फिल्म टोली बताउँछन्।
शाहरुखलाई उनका फ्यानहरूले सामाजिक सञ्जालमार्फ निर्देशक जयन्थको पटकथा जति सक्दो छिटो पढेर यसबारे विचार गर्न अनुरोध गरेका छन्।
शाहरुख यतिबेला सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’ फिल्मको छायांकनमा व्यस्त छन्। फिल्ममा अभिनेत्री दिपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका अभिनय देख्न पाइनेछ।