प्रविधि

टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयात गरिने

टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयात गरिने

काठमाडाैं: नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ ।

भारतको केन्द्रिय विद्युत प्राधिकरण सीईएले टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।

सीईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतकाे प्रतियुनिट मूल्य ६ रुपैयाँ ६२ पैसा रहेको छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन नसकिरहेको अवस्थामा टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार आउने कामु कार्यकारी निर्देशक शाक्यको भनाई छ ।

टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युतलाई काठमाण्डौ उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने पनि शाक्यले बताए। यसैबीच प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन र विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिएकाका छन् ।