समाज

फेरि स्कुल बन्द र जाेरबिजाेरकाे तयारी, बाहिर ननिस्कन आग्रह

फेरि स्कुल बन्द र जाेरबिजाेरकाे तयारी, बाहिर ननिस्कन आग्रह

काठमाडौं: वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन भनिएकाे छ । उपत्यकाकाे वायु प्रदूषण अत्यधिक बढेपछि वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको हाे ।

विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवम् दम, खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुरोगीलगायत दीर्घ रोगीहरू बढी प्रभावित हुने भएकाले बाहिर ननिस्किन अपिल गरेका हौं। बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ । ’

घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनसमेत विभागले आग्रहसमेत गरेको छ । कलकारखाना र सवारी साधन धेरै नचले पनि मौसमका कारण प्रदूषण बढेको उनले बताए ।

उनले भने, ‘एकदुई दिनभित्रमा प्रदूषणको मात्रा नघटेमा विद्यालय, कलकारखाना बन्द गर्ने र सवारी जोरबिजोरमा चलाउनेसम्मको योजना बनाएका छौं ।' 

यस्तै विभागले फोहोरजन्य प्लास्टिकहरूका कारण थप प्रदूषण बढ्ने भएकाले नबाल्न पनि अनुरोध गरेको छ । 

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ । एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायू प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ छ भने अधिकतम ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।