समाज

पूर्वयुवराज पारस शाहको छातीमा समस्या, होटलमै ईसीजी गरिँदै

पूर्वयुवराज पारस शाहको छातीमा समस्या, होटलमै ईसीजी गरिँदै

चितवन, ११ मंसिर । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।
 
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । 

रेग्मीका अनुसार, उनलाई होटलमै ईसीजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।

रेग्मीले भने, “उहाँको स्वास्थ्य परीक्षण गरेर ईसीजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” 

ईसीजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।
 
रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।