खेल

राष्ट्रिय टिमका कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र र रोहितलाई कोरोना संक्रमण

राष्ट्रिय टिमका कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र र रोहितलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल तथा चालक प्रदीप लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका चार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । क्यानका अनुसार तीन खेलाडी र चालक प्रदीप लामा गरि कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार क्यानले टीयू मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक ब्यवस्थापक बिक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

जसमा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने क्यानले बताएको छ । क्यानले यी चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । जसमा क्यानले रित गौतमसहित अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।