खेल

पूर्वकप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनयनमा

पूर्वकप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनयनमा

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आईसीसी)ले सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । 

मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन् । 

आईसीसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आईसीसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आईसीसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

अवार्डका लागि मनोनयनमा परेका खेलाडीलाई मत दिन आईसीसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आईसीसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए ।