शिक्षा

निजामती कर्मचारीलाई लोकसेवा तयारी कक्षामा पढाउन निषेध

निजामती कर्मचारीलाई लोकसेवा तयारी कक्षामा पढाउन निषेध

काठमाडाैं: सरकारले बहालवाला निजामती कर्मचारीलाई लोकसेवा तयारी कक्षामा पढाउन बन्देज लगाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोकसेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षामा पढाउन पाउने छैनन्।

मन्त्रालयले निजामती कर्मचारीले कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन निषेध गरेको हो।

निजामती सेवाका कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

लोकसेवा तयारी कक्षा पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ।